बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले ब्रेन ट्युमर र बोनम्यारो क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग गरेको छ ।
बुद्धशान्ति निवासी रिकेश फेम्बोको चार बर्षीय छोरालाई ब्रेन ट्युमर र बोनम्यारो क्यान्सर भर्इ उपचारको लागि धेरै रकम लाग्ने भएकोले खर्च अभाव भइरहेको अवस्थामा बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको तर्फबाट नगद पन्ध्र हजार सहयोग हस्तान्तरण गरिएको छ ।
उक्त रकम प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले पीडित परिवारलाई हस्तान्तरण गर्नु भएको हो ।
नगद हस्तान्तरण कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर राय, संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, परिवार लगायतको उपस्थिति रहेको थियो ।
आपत विपतमा परेकाहरूलाई सहयोग गर्ने साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने गरि बुद्धशान्तिमा स्थापना भएको प्रतिष्ठानले ५० लाख रुपैँयाको अक्षयकोष र २० लाख कार्यालय व्यवस्थापन का लागि गरेर ७० लाख रुपैयाँमा छुट्याइएको छ ।
उक्त रकमबाटै प्रतिष्ठानले सामाजिक क्षेत्रमा कामका साथै सहयोग गर्दे आएको अध्यक्ष प्रसाईंले बताउनु भयो ।
बालकको उपचारका लागि सबैले आ आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न वडा अध्यक्ष शेयर बहादुर रायले अपिल समेत गर्न भएको छ ।