April 18, 2024

कृषि

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ ले  कृषकहरुलाई व्यवसायि कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले विभिन्न समुहका कृषकहरुलाई ७५ थान हाते ठेला र ६५ थान मकैको ड्याङ वनाउने हलो वितरण गरिएकाे छ । वडा कार्यलयले  मंगलबार एक कार्यक्रम गरेर विभिन्न कृषक, समूहहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो ।

बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ गाउँपालिकाले कदम चालेको बताउनुभयो ।

कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै  वडाले कृषि उपज उत्पादनमा लागेका किसानलाई कृषि सामाग्री वितरण गरेको उहाँले बताउनुभयो ।बुद्धशान्ति गाउँपालिका कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेल, बुद्धशान्ति वडा नं ३ कार्यपालिका सदस्य नर्बदा चापागाँई  सदस्य दिपक सापकोटा , सदस्य तिलक प्रसाद रिजाल ,हरियालि मुल कृषक समूहका अध्यक्ष फडिन्द्र ढुङ्गाना , सहितकाे उपस्थितिमा मंगलबार वडा नम्बर ३ का कृषकहरूलाई उक्त  सामान हस्तान्तरण गरिएकाे थियाे ।

वडाबाट खुलाइएको निवेदनको मागका आधारमा छनौट भएका किसानहरु लाई वडा नं ३ को कृषि वजेटको ५०/ प्रतिशत तथा कृषको ५० प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण गरेको वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङले बताउनु भयो ।

कार्यक्रममा बोल्दै वडा नं ३ का वडा सदस्य तिलनारायण रिजालले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा स्थानिय सरकारले राखेको भन्दै उहाँले भन्नू भयो र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा कृषकहरूलाई ब्यवसायिक बनाउन सके खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । हरियाली मुल कृषक समूहका अध्यक्ष फडिन्द्र ढुङ्गानाले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नु भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेल,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने बुद्धशान्ति गाउँपालिका वडा नं ३ हरियालि मूल समूहकि सचिव को सचिब पार्वता बजगाईले  कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका अखिल नेपाल महिला सघं बुद्धशान्ति गाउँ कमिटीले ११४ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहिवार बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया बगानमा काम गर्दै आउनु भएका श्रमिक ४२ जना महिला आमा दिदी बहिनीहरूलाई सम्मान गरेको छ । अखिल नेपाल महिला सघं बुद्धशान्तिका अध्यक्ष भगवती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष पबित्रा पाठकको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै अनेम संघ बुद्धशान्ति गाउँ कमिटी उपाध्यक्ष देब कुमारी सेर्माले उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नुभएको थियो । अनेम संघ बुद्धशान्तिका अध्यक्ष भगवती न्यौपाने कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै चिया बगानको शुन्दरताले पर्यटन क्षेत्रमा ठूलो महत्व बोकेको हुन्छ तर चियाको बुट्टा संग दैनिक पौठेजोरी खेल्दै दैनिकी गुजारा चलाउने यहाँका श्रमिक महिला दिदी बहिनिहरू भने सधै पछि परिरहनु पर्ने बाध्यता भने उस्तै छ,यहि कुरालाई मध्यनजर गर्दै हामिले उहाँहरूको हौसाला साथै मजदुर श्रमिकहरूको समस्या उहाँहरूको केही गुनासाहरू भए सम्बन्धीत ठाउँसम्म पुर्याउन सहयोग पुग्नेछ भन्ने उद्धेश्यले वर्ने चिया बगानमानै आएर बगानमा काम गर्ने ४२ जना श्रमिक महिलाहरूलाई सम्मान गरिएको उहाँले बताउनु भयो ।कार्यक्रममा नेकपा एमाले  प्रदेश कमिटी सदस्य लक्ष्मी राई, प्रदेश कमिटी सल्लाहकार  सदस्य ज्ञान बहादुर मगर, जिल्ला कमिटी सदस्य टीका प्रसाद पाठक,सदस्य गंगा सुबेदी, सदस्य दिपक गौतम, अनेम संघ जिल्ला कमिटी  उपाध्यक्ष रेनुका डाँगी गाउँ कमिटी अध्यक्ष नेत्र रिजाल, गाउँ उपाध्यक्ष सम्भु प्रसाद बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा देबी खतिवडा,सदस्य नर्वदा चापागाँइ, पौडेल,चन्द्र कोइराला गाउँ सचिब धरणिधर पोख्रेल लगायतको आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल महिला संघ जिल्ला कमिटी अध्यक्ष पबित्रा पाठक लगायतले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चालन अनेम सघं बुद्धशान्तिकी सचिब दुर्गा पोख्रेल (ढुङ्गेलले) गर्नुभएको थियो । सन १९१० मा अन्तराष्ट्रिय नारी दिवसको प्रस्ताव क्लारा जेटकिनले गरेकी थिइन। यसको उत्पति श्रमिक आन्दोलनबाट सुरू भएको हो भने १९०८ मा न्यूयोर्क सिटीमा १५ हजार महिलाहरूले कामको घन्टा छोटाउन,राम्रो तलव र मताधिकार माग गर्दै सुरू भएको थियो।

त्यसको ठीक एक बर्ष पछि’द सोसलिष्ट पार्टी’ले राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो र यसलाई अन्तराष्ट्रिय बनाउने अभियान कम्युनिष्ट अभियानकर्मी र महिला अधिकार वादी नेता क्लारा जेटकिनले अगाडी सारेकी थिइन,।
सोविचार १९१० मा कोपनहेगनको कन्फेरेन्स अफ वर्किङ विमिन नामको सम्मेलनमा सुझावको रूपमा पेश गरिएको थियो।
सो सम्मेलनमा १७ देशको १०० महिलाहरूको सहभागि थियो र उनिहरूले त्यसलाई सर्वसम्मत सहमति जनाई सुरू भएको पाइन्छ।

१९१७ मा रुसी महिलाहरूले ब्रेड एण्ड पीस माग गर्दै ४दिने विरोध प्रर्दशन पछि त्यस बेलाका जार साशकले सत्ता छोडेर त्यस पछिको काम चलाउ सरकारले महिलालाई मताधिकार दिएको थियो र त्यसताका रुसमा प्रचलित क्यालेण्डर जुलियन क्यालेण्डर अनुसार २३ फेब्रुवरीको दिनमा महिला हड्ताल सिरू भएको थियो भने जुन ग्रेगरियन क्यालेण्डर अनुसार ८ मार्च परेको हुनाले त्यस यता नारी दिवस मनाउन थालिएको पाईन्छ।

सृजनशिल युवा समाज बुद्धशान्ति ४ ले गर्यो मेची राजमार्गको भाइरल शिरीष रुख वरपर रोपिएको विरूवामा पानी हाल्ने गोडमेल गर्ने साथै सरसफाइ गर्ने काम सम्पन्न  गरेको छ ।गत र्वष वडा न:४ स्थित बर्ने चिया कमान आसपास मेची राजमार्गको दुवै तर्फ भाइरल शिरीष रुख वरपर  बुद्धशान्ति गाउँपालिकाले गुल्मोर प्रजातीका आकर्षक विभिन्न रङ्गका फुल फुल्ने शिरीष राजबिक्छे,जाडुल लगायतका विरुवा वृक्षरोपण गरिएको थियो। हिउँदको समयमा बिरुवा सुक्ने वाख्रापाठाले खाने साथै भाँचिने टेकिने विभिन्न कारणले बिरुवा हरू मर्ने थाले पछि आज सृजनशिल युवा समाज बुद्धशान्ति ४ विरूवामा पानी हाल्ने गोडमेल गर्ने घेराबारा मर्मत गर्ने लगायतका काम सम्पन्न गरेको छसट्टाभर्ना मंगल बारे खानेपानि उपभोक्ता समितिको सचिव सृजनशील युवा क्लब को सदस्य साजन तामाङ को संयोजकत्वमा
हरियो वन नेपालको धन आफ्नो गाउँ आफै बनाऊ भन्ने नाराको
संदेश दिदै : viral maatra hoina भविस्य बनाऊ भन्ने र स्थानीय पर्या पर्यटन विकास र प्रवद्र्धन मा श्रम दान गरौं । भन्दै संस्थाका अध्यक्ष  पराजुलिले विगतका दिनहरूमा पनि संस्थाले देश कोरना कहरले थलिएको बेलामा स्थानिय तहलाई आर्थिक सहयोग लकडाउनको बेलामा विपन्न परिवालाई खाद्यान्न सहयोगसंस्थाहरूमा सरसफाई जिल्ला स्तरिय फुटबल खेलाउने पछिलो समय चर्चामा अाएको भाईरल सिरिसको वरपर वृक्षारोपण सरसफाई जस्ता विभिन्न सामाजिक कार्यहरूमा सहयोग पुर्याउने सम्पुर्णमा धन्यवाद दिदै आगामी दिनहरूमा पनि यस्ता विभीन्न सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।क्लब सचिव पारस लिम्बू, गोबिन कार्की, सुरज दाहाल नवीन अधिकारि,उज्वल खवास,दिपु अधिकारीको उपस्थिति रहेको थियो 
सम्पूर्ण खाजा पानी प्रयोजन,स्थानिय व्यापारी हरुले गर्नु भएको बताईएको संस्थाका सचिव पारस लिम्बुले जानकारि दिनु भयो ।
पानी उपलब्द गणेश बस्ती डिप ट्युबवेल जल उपभोक्ता समितिको अध्यक्ष कृष्ण कुमार प्रधानले गर्नु भएको थियो ।

इलामको रोङ गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । किसानलाई बाँदर लगायतका जङ्गली जनावरले हैरान बनाएपछि वैकल्पिक खेतीका रूपमा गाउँपालिकाले बेसार खेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले गत वर्ष स्थानीय इको चिया उत्पादक सहकारीलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको थियो ।

उक्त बेसार इको चिया उत्पादक सहकारीले ४५ जना किसानलाई खेती गर्न वितरण गरेको थियो । उक्त बिउँबाट चार हजार तीन सय ५० किलोग्राम बिउँ उत्पादन भएको छ ।

किसानले उत्पादन गरेको बिउँ ४० रुपियाँ प्रति किलोका दरले सहकारीले खरिद गरेको छ ।

सहकारीले किसानबाट खरिद गरेको बेसारको बिउँ किसानलाई वितरण गर्ने योजना रहेको सहकारीले जनाको छ ।

गत वर्ष बिउँ पाएपछि स्थानीय शान्त कुमारी लाप्चाले एक किलोग्राम बेसारको बिउँबाट १६ किलोग्राम बेसार उत्पादन गर्न सफल बन्नुभएको थियो।

उहाँले बाँदर लगायत जङ्गली जनावरले अन्य खेती गर्न नदिएर उठीबास बनाएको बेला बेसारमा कुनै जङ्गली जनावरले क्षति नगर्ने भएका कारण बेसार खेती उपयोगी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “थोरै रकम खर्च गर्दा धेरै आम्दानी गर्न सकिने यो अति सजिलो खेती हो ।”

गाउँपालिकाले ६ वटै वडालाई उत्पादनमा जोडेर प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिका अध्यक्ष मनीकुमार स्याङबोले बेसार उत्पादनबाट आर्थिक वृद्धि हुने ,रोजगार सृजना हुने, बेसारमा आत्मा निर्भर बन्न सकिने, आयत प्रतिस्थापन गर्न सकिने, निर्यात उन्मुख रहने र ग्रामीण अर्थतन्त्र चलायमान हुने बताउनुभयो । पालिकाले आगामी दुई वर्षभित्रमा प्रति वर्ष दुई लाख किलोग्राम बेसर उत्पादन गरी उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको अध्यक्ष स्याङबोले जानकारी दिनुभयो । पालिकाले कपुरबोट १ जातको बेसार गाउँमा वितरण गरेको छ । २०७८ सालमा बुटवल सोलार प्लान्टबाट उपलब्ध भएको दुई सय किलोग्राम बेसार अहिले तीव्र गतिमा विस्तार भएको छ । “बेसार खेतीले आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विश्वासका साथ खेती गराउन थालेका हौँ,” अध्यक्ष स्याङबोले भन्नुभयो ।

पालिकाले बेसार खेती बढाएर आगामी वर्षबाट ‘रोङ बेसार’ ब्राण्डिङ गरी बजारमा ल्याउने भएको छ । पालिकाले यस अघि गुन्द्रुकको ब्राण्डिङ गरी बजार ल्याउँदै आएको छ ।

माघे सङ्क्रान्तिलाई लक्षित गरी पछिल्लो एक सातामा मात्रै काठमाडौंको कालीमाटीमा ७ सय ९० टन तरुल भित्रिएको छ । माघे सङ्क्रान्तिमा तरुल खाने चलन छ ।
कालीमाटी तरकारी तथा फलफूल व्यापार विकास समितिका अनुसार पछिल्लो एक महिनामै १२ सय ११ टन तरुल काठमाडौंमा आयात भएको हो । जबकि यो वर्षको हालसम्म १४ सय ८९ टन भित्रिएको तथ्यांक छ ।

गत वर्ष १६ सय ९३ टन आयात भएको थियो । पछिल्ला केही दिनयता कालीमाटीमा अन्य तरकारीको तुलनामा तरुलको व्यापार बढेको छ ।

पछिल्ला केही दिनयता दैनिक १० क्विन्टलसम्म तरुल बिक्री हुने गरेको छ । साताअघि भने दैनिक २ क्विन्टलसम्म बिक्री हुने गरेको थियो । साताअघिसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको तरुल अहिले होलसेलमै प्रतिकिलो ६० रुपैयाँभन्दा माथि पुगेको छ ।

तरुलको खुद्रा मूल्य पनि सोही दरमा महँगिएको छ । जातअनुसार मूल्य फरक-फरक छ । नेपाली बजारमा घर तरुल, वन तरुल, पातले, मुढेलगायतका जातका तरुल पाइन्छन् । काठमाडौंमा सबैभन्दा धेरै तरुल सर्लाहीबाट ल्याइन्छ ।

त्यस्तै सुनसरी, धादिङ, मकवानपुर, चितवनलगायतका जिल्लाबाट पनि काठमाडौंमा तरुल ल्याइन्छ ।

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन्। ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ।

अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जंगल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्छिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो।’

गतवर्षभन्दा झण्डै तीन गुणा बढीले अलैँचीको भाउ बढेको ब्यवसायी जीवन पाण्डेले बताए। ‘गत वर्ष यस याममा प्रतिमन २८ हजार रुपैयाँ थियो, हाल राम्रो अलैँची प्रतिमन रु ८५ हजारसम्म बिक्री भइरहेको छ’, उनले भने।

अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको छ। किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नभएकाले यस वर्ष भाउ बढेको उनले बताए। रोगले मासिँदै गएको अलैँचीलाई आधुनिक खेती प्रणाली अपनाएर किसानले पुरानै अवस्थामा पुर्‍याउने प्रयास गरिरहेका छन्।

सूर्योदय–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन्। ‘वर्षमा २७ देखि ३१ मनसम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु आठ–दश लाख बचत हराएको छैन’, उनले भने।

आधुनिक खेतीप्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका हुन्। प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो।

मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन। अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको किसान शेरेङले बताए।

जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैँची उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो। एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामसँग तथ्यांक छ।

कार्यालयका कर्मचारी रुजन खड्काका अनुसार गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो। ‘गतवर्ष एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो।’ उनले भने, ‘अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ।’

गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले बताए।

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो। अलैँचीकै आम्दानीले घरखर्च चलाउनमात्र होइन, जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो। तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो। विस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन रु एक लाखसम्म पनि पुग्यो।

रोगले हराउँदै गएको अलैँचीलाई किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्‍याउने प्रयास थालेका छन्। ‘पाखामा गाडेरमात्र नहुँदोरहेछ, स्याहार र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ’, किसान शेरेङले भने, ‘रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाइयो।’

उनले सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताएका छन्। अलैँची विकास केन्द्रका तत्कालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्‍याएको उनले बताए।

‘मेरोमा उत्पादन भएको अलैँची बाग्लुङ, पोखरा, स्याङ्जातिर पनि निर्यात भएको छ’, उनले भने, ‘मैलै सधैँ बिरुवा उत्पादन गरेर अलैँची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आगामी वर्ष बृहत् गर्नुछ।’
प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ। अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको हो।

किसानले अलैँचीका लागि संघसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो।
अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन्।

घरेलु औषधि र मलको प्रयोग अलैँचीलाई महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ। दशकअघिको खेती प्रविधि सम्झँदै उनले भने, ‘त्योबेला अलैँची त दुःख नगरी फल्दोरहेछ, जबर्जस्ती आम्दानी लिएछौँ।’
सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उनले बताए। किसानले अलैँची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल भने घटेको छ। जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह भएको इलाममा माईजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँचीखेती भए पनि सबै स्थानीय तहमा आंशिकरूपमा खेती हुँदै आएकोे छ।

अलैँचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो,ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ। रासस

पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतंकले हिउँदे बाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ । लगाएकाहरूलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्ने गरेको छ ।

जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुली विगतका वर्षमा १८ रोपनी खेतमा गहुँ खेती गर्दै आए पनि अहिले बाँझै राखेको बताउँछन् । विगतमा मंसिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो । यतिबेला गहुँमा सिँचाइ गर्न व्यस्त हुने पुनाखर बाँदरका कारण फुर्सदिलो बनेका छन् ।

बाँदर आतंक बढ्दै गएपछि पुनाखरको साँधका विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छ । उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छाडेका हुन् ।

धान जेनतेन थन्क्याउन सकिन्छ,” टीकाराम भन्छन्, “हिउँदे खेती जति नै प्रयास गर्दा पनि जोगाउन नसकेपछि आजित भएर लगाउनै छोडियो ।”

त्यसैगरी, फलेवास–४ का रामप्रसाद गौंडेलले लगाएको ४० केजी आलु उम्रिन नपाउँदै एक हुल बाँदर पसेर नष्ट पारिदियो ।
बिहादी गाउँपालिका–३ का रामु पराजुलीले सहकारीमार्फत बर्सेनि एक सय रोपनीमा सामूहिक आलुखेती गर्दै आएका थिए । तर, बाँदरबाट जोगाउन नसक्ने भएपछि पछिल्लो तीन वर्षयता आलु रोप्नै छोडेको बताउँछन् ।

“एकपटक पल्केपछि बाँदरले खेती सखाप नपारेसम्म नछोड्ने रहेछ,” उनी भन्छन्, “हजारौँ खर्च गरेर महिनौँसम्म खटेको बाली एकै दिनमा सखाप पारिदिएपछि सबै किसान आजित भए । अहिले जति नै प्रयास गर्दा पनि व्यावसायिक आलुखेती गर्न सकिएन ।”

बाँदरको हैरानी खेप्न नसकेका उनी दुई वर्षयता बाँदरबाट जोगिन बेसार, अदुवा, तोरीलगायत वैकल्पिक खेतीतर्फ लागेका छन् ।

अहिले जिल्लाभर बाँदरको आतंक फैलिएको छ । जिल्लाका ६१ वडामै बाँदरको समस्या नभएको कुनै वडा छैन । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन समूह भएर जाग्राम बस्नुपरेको छ । बाँदर आतंक किसानका लागि टाउको दुखाइको विषय बनेको सरोकारवालाहरूको भनाइ छ ।

मोदी–२ का गुरुदत्त चापागाईं भन्छन्, “पहिला कुकुर भुक्दा भाग्थ्यो । अहिले कुकुरलाई नै झम्टिन आउँछ ।”

जलजला–५ की पार्वती खत्रीले रोपेको २५ केजी आलु बाँदर पसेपछि बाटै बाँकी नराखेर उखेलेकी थिइन् ।

पर्वतमा आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौँ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायत वडामा आलुखेतीमा पनि बाँदर मुख्य समस्या बनेकाले किसान चिन्तित बनेका छन् ।

अहिले आलु मात्रै नभएर सुन्तला पनि खान थालेको छ,” बाँसखर्कका समुद्र खत्री   भन्छन्, “पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले मान्छेलाई नै झम्टिन आउँछ ।”

जिल्लाका उच्च भेगमा पर्ने गाउँको मुख्य बाली आलुखेती हो । हिउँदे खेतीका लागि उपयुक्त मानिने कुश्मा र फलेवास नगरपालिकामा पनि बाँदरको हैरानीले किसानले लगाएको कुनै पनि हिउँदे खेती स्याहार्न नपाइएको किसानको गुनासो छ । दशकअघिसम्म पर्वतबाट अन्य जिल्लामा गहुँ र गहुँको बिउसमेत निर्यात हुने गरेकामा पछिल्ला वर्षमा गहुँ र गहुँको पिठो तराईका विभिन्न उद्योगको भर पर्नुपरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको फलेवास नगरपालिकाले चालु आर्थिक वर्ष किसानलाई आलु र गहुँको बिउ निःशुल्क वितरण गर्ने कार्यक्रम राखे पनि अपेक्षित माग नआएको जनाएको छ ।

फाटफुट माग आएको थियो,” कृषि शाखा प्रमुख केदार सापकोटा भन्छन्, “बिउ माग गर्ने किसानले बाँदर जोगाइदिने भए लैजान्छौँ, नत्र लैजाँदैनौँ भनेका छन् ।” महाशिला र पैयुँ गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन नसकेपछि अहिले त्यस क्षेत्रमा समेत किसानले हिउँदे खेतीप्रति रुचि देखाउन छाडेका छन् । 

इलामको सूूर्योदय नगरपालिका–७ कन्याममा २३ करोडको लगानीमा अर्थोडक्स चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र निर्माण भएको छ । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ  । चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए ।

चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने उनको भनाइ छ । “यहाँ सामान्यतया चियामा उत्पादन नहुने, उत्पादन भएको चिया परम्परागतशैलीमा नै टिप्ने र प्रशोधन हुँदै आएको छ तर अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ”, भट्टराईले भने ।

नगरपालिकाको एउटा ‘गौरवको आयोजना’ मानिएको यो केन्द्रको भौतिक निर्माण सम्पन्न भएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिएका छन् । “यो देशकै पहिलो चिया अनुसन्धान तथा प्रवद्र्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ”, राईले भने । कोशी प्रदेश सरकार र नगरको साझेदारीमा करिब  २३ करोडको लागतमा यो केन्द्र निर्माण भएको हो ।

चियामा लागि उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलामको सूर्योदय नगरपालिकालाई त चियाको राजधानी नै भन्ने गरिएको छ । इलाममा अनुसन्धान केन्द्र स्थापना भयो अब नेपाली चियाको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ  । कृषक धीरज अधिकारीले भने, “स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा अब हाम्रो जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा छ ।”

नगरपालिका कोशी प्रदेशकै पर्यटकीय नगरी हो । केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवाला बताउँछन् । नगरपालिकामा अन्य पनि ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै धमाधम निर्माण भइरहेका छन् । नगरप्रमुख राईका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् । उनले भने, “ ५० करोड लगानीमा पर्यटन, पूर्वाधार र कृषिका आयोजनाको काम भइरहेको छ,  ६६ करोड लगानीको खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ भने  ३९ करोड लगानीको खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।”
फिक्कलमा  १३ करोड लगानीमा अस्पतालको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बताउँदै राईले  ४४ करोड लगानीको भालुखोपबाट वडा नं १३ र १४ जोड्ने सडक निर्माण भइरहेको जानकारी दिए।  नौ करोड लगानीको सिसासहितको ‘सस्पेन्सन ब्रिज’ निर्माण भइरहेको छ ।  १२ करोड लगानीमा स्वीस सरकारसँगको साझेदारीमा सिँचाइ आयोजनाको काम हुँदै गरेको र यसमा नगरसहित प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको उनको भनाइ छ ।

स्वीस सरकारले पर्यटनसम्बन्धी विभिन्न आयोजनामा लगानी गर्न चासो देखाएको छ”, प्रमुख राईले भने, “नगरले आफ्नै लागत तथा अथक प्रयासमा प्रदेश र सङ्घको सहकार्यमा आयोजनाको काम गरिरहेको छ ।” सूर्योदय नगरपालिकाले ठूला आयोजनाको काम गरिरहेकामा नगरवासी खुसी देखिन्छन् ।

यही गतिमा सयौँ आयोजनाको काम सकिँदा विकासमा फड्को मार्ने आशा गरिएको स्थानीय रविन सापकोटा भन्छन्, “हाम्रो नगरपालिका चियाको उर्वर भूमि हो । पालिकाले अनुसन्धान केन्द्र बनाएर राम्रो गरेको छ ।” इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ  ।

मह जति स्वादिलो हुन्छ, उत्तिकै गुणकारी पनि । खासमा औषधिय गुणले भरिपूर्ण हुन्छ मह । त्यसैले त मान्छेले निर्धक्क मह खान्छन् । चाहे पाउरोटीमा दलेर होस् वा कागती पानीमा घोलेर ।

तर, बजारमा उपलब्ध सबैजसो मह शुद्ध हुँदैनन् । कतिपय मह त कृतिम ढंगले तयार गरिदो रहेछ, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक हुने भयो ।

अर्थात मिसावटयुक्त मात्र होइन, पुरै कृत्रिम रसायनको मिश्रणबाट पनि मह बन्ने गरेका छन् । यस्तोमा शुद्ध मह चिन्न केही कुरामा ध्यान दिनुपर्छ । महको रंग, सुगन्ध र यसको जमावट हेरेर शुद्ध हो की हैन पत्ता लगाउन सकिन्छ ।

रङ र सुगन्धबाट शुद्धता जाँच

महको रंग तथा सुगन्धबाट पनि यसको गुणवत्ता पत्ता लगाउन सकिन्छ । मह जति शुद्ध हुन्छ त्यती नै राम्ररी जम्छ । शुद्ध मह सङ्लो देखिँदैन अलि  मैलो देखिन्छ । घाममा राख्दा पनि त्यसको रंग परिवर्तन हुँदैन । यसको गन्ध अलि अलि अमिलो मिश्रित हुन्छ ।

महको शुद्धता जाँच्ने सरल विधी

सामान्य मान्छेले मह शुद्ध हो की होइन पनि पत्ता लगाउनको लागि एक गिलास पानीमा एक चम्चा मह घोलेर हेर्दा त्यो मह एकदमै छिटो पानीमा घुल्छ भने त्यो महमा मिसावट छ  । पानीसँग नुन घुले जसरी नै घुल्छ भने त्यो प्रशोधित हो । यदि मह शुद्ध हो भने केही मह माथी तैरिएर बस्छ ।

शुद्ध मह पत्ता लगाउन बुढी र चोर औँलामा मह लिएर फैलाउँदा त्यो रबर जस्तो तन्कियो शुद्ध हो । यदि टुक्रियो भने शुद्ध हैन । दुई वटा पाउरोटीको बिचमा मह राख्दा त्यो सजिलै टाँसियो भने त्यो शुद्ध मह हो ।

यो सिजनको मह उत्तम

अहिले पाइने मह भनेको सूर्यमुखी र तोरी फुल्ने सिजनको हो । यो सिजनमा पाइने मह नै राम्रो हो । उन्नत तरिकाका मौरीहरूलाई जुनसुकै सिजनमा पनि पाल्न सकिन्छ र त्यसबाट मह निकाल्न सकिन्छ ।

फूलबारीमा मौरी नपालेर आजभोलि फलफूल बढी बिक्री हुने ठाउँमा मौरी पालेर मह निकाल्ने गरेको पनि पाइएको छ । त्यस्तो मह भने स्वास्थ्यकर हुँदैन त्यो कुरामा पनि हामी सचेत हुनु पर्छ ।

अमृतसमान मह

महलाई प्रकृतिको अमृत मानिन्छ । यसमा सूक्ष्म पोषक तत्त्व र  शरीरलाई न्यानो बनाउने गुण हुन्छ । महमा यान्टिबायोटिक गुण हुन्छ, प्रोटिन, ‘फिनोल’ नामको यान्टिबायोटिक हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

महमा भएको सबै घटकहरू प्रोटिन, सूक्ष्म पोषक तत्त्व, यान्टिबायोटिक र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन तत्त्वहरू एकदमै धेरै हुन्छ ।

मह कसरी खान सकिन्छ ? कति मात्रा ? कुन अवस्थामा ?

आजभोलि हटलेमन खाने चलन छ । यो एकदमै अस्वास्थ्यकर बानी हो । महलाई तातो पानीमा मिसाउँदा यसमा भएका गुणहरू नष्ट भएर जान्छ र कहिलेकाहीँ विषाक्त पनि हुन सक्छ ।

महलाई खाने सबैभन्दा उत्तम उपाय भनेको चाटेर खाने हो । मनतातो पानी अलग खाने र महलाई चाटेर खाने यसरी खाँदा मुखमा भएका सूक्ष्म ग्रन्थिहरू पनि सक्रिय हुन्छन्  ।  मह यति नै मात्रामा खाने भनेर त छैन तर, ठुला व्यक्तिले दैनिक टेबल चम्चाको एक चम्चा र बालबालिकाले चिया  चम्चाको एक चम्चा खानु उपयुक्त हुन्छ । पाउरोटी रोटीमा लगाएर खाँदा त धेरै पनि खाइन्छ । मह शुद्ध छ भने रुचि र शरीरको क्षमता अनुसार धेरै खाँदा यसले बेफाइदा गर्ने भने होइन ।

शरीर कमजोर भएको अवस्थामा, खाना अरुचि भएको बेला, आँखाको ज्योति बढाउन, चिसो लागेको बेला, मुटुलाई स्वास्थ्य राख्न, यौन क्षमता बढाउन , रुघा खोकी  लागेको बेला र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मह खान सकिन्छ  ।

यदि मह एकदमै शुद्ध छ भने  यसको सेवनले मधुमेह नै निको पार्छ भनेर समेत आयुर्वेदिक किताबहरूमा लेखिएको छ ।

सङ्खुवासभाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।

गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो । गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याइ धान झारेर पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ गर्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।

एक दशकअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ गर्नेै आएका किसानहरू पछिल्लो समय खेतालाको अभाव हुन थालेपछि आधुनिक मेसिनको सहायताबाट दाइँ हाल्न थालेका छन् । कृषिमा भित्रिँदै गरेको प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झार्न दाइँ गर्ने परम्परा लोप हुन थालेको हो ।

दाइँको तयारीका लागि पाँच÷सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गरो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका–१ ओतेनको स्थानीय भैरवबहादुर थापाले बताए ।

पहिले पहिले दाइँमा सिमेभुमे नागहरुको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकतातर्फ लागेको थापाले बताए ।

युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु तथा पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ गर्ने संस्कृति लोप हुन थालेको सोही ठाउँका स्थानीय सुरेश पुरीले बताए ।