
बैसाख १५ गतेदेखि सञ्चालन हुने तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको श्री बुद्धआदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको मैदान व्यवस्थापन, प्याराफिट निर्माण लगायतका मुख्य काम सम्पन्न भएको तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल कल्बका
सचिव दुर्योधन सिंह (देव) ले जानकारी दिनु भयो ।
फुटबल प्रतियोगिताका लागि खेल मैदान सजिसजावटको काम समेत अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगिताका लागि खेल मैदान सम्याउने काम भईसकेको छ । दर्शकको सुविधाका लागि अस्थायी प्यारापिट निर्माण गर्ने काम भएको छ । भोलि बाट हुने तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहने बताइएको छ ।
२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो।
दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा आदर्श युवा क्लब बुद्वशान्ति, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, मानेभञ्ज्याङ एफसी भारत, धरान एफसी, बिर्तामोड युनाइटेड, नर्थ बंगाल एफसी भारत, रेड हर्ष एफसी इलाम र बेलबारी एफसी मोरङको सहभागिता रहने आयोजक आदर्श युवा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिनु भयो ।प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् ।
फाईनल खेलका उत्कृष्ठ गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैया पुरस्कार पाउने छन् ।
प्रतियोगितामा २१ लाख ९६ हजार रुपैया खर्च हुने अनुमान प्रतियोगिता संयोजक मनेष दाहालले बताउनु भयो ।
प्रतियोगितालाई भब्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जात जातीका झाँकी प्रदर्शन गरिने तयारी रहेको बताईएको छ ।
बुधबारेको इन्दिरा फाउन्डेसनको प्रायोजन रहने प्रतियोगिताको प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्नेछ । प्रतियोगितालाई बुद्धशान्ति गाउँपालिकाले मुख्य सहयोग गरेको छ ।