
काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने पहिलो नेपाली फ्रिलाइन्स प्लेटफर्म ‘yahachha.com’ सार्वजनिक गरिएको छ । झापाको बिर्तामोडस्थित किंङसवेरी एक भव्य समारोहका बीच सोमवार व्यवसायिक अनलाईन पोर्टल ‘यहा छ’ को सार्वजनिक गरिएको हो । बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले रुटदेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालि.ले निर्माण गरेको व्यवसायिक अनलाईन पोर्टलको सार्वजनिक गर्नुभएको हो । प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्ने र सो क्षेत्रबाट सेवा लिन अब उक्त पोर्टल सुरु गरिएको हो ।
प्रविधिसँग सम्बन्धित कुनै पनि सेवाका लागि काम गर्नु परे वा गराउनु परेमा यो प्लेटफर्मको प्रयोग गर्न सकिने कम्पनीका रविन थापाले जानकारी दिए । उनका अनुसार ल्यापटप र इन्टरनेट हुने जो कोहिले कुनै पनि ठाउँमा बसेर काम गर्न सकिने बताए ।
स्वदेशमा रोजगार छैन भन्नेहरुलाई उनले प्रविधिको ज्ञान भए विदेश जानु नपर्ने अवगत गराए । सन् २०१६ देखि अन्तराष्ट्रिय स्तरमा सेवा गर्दै आएको कम्पनीले नेपालभरका लागि नयाँ कार्यक्रम ल्याएको हो । अनलाईन सेवा मार्फत गरिने काममा भुक्तानी खल्तीबाट गर्ने व्यवस्था मिलाइएको छ ।
रोजगार र सीपलाई जोड्ने माध्यमका रुपमा सार्वजनिक गरिएको ‘यहा छ’ ले दुवै पक्षका समस्याहरु समाधान गर्ने विश्वास गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईले युवाहरुले नेपालमै संभावना देखाउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
केही हुदैन भन्नेहरुका लागि यो कामले बलियो उदाहरण पेश गरेको उहाँको भनाई थियो । प्रविधिको युगमा अति आवश्यक अनलाईन व्यवसायिक पोर्टल निर्माण गरेकामा धन्यवाद समेत दिनुभयो ।
सो अवसरमा उक्त कार्यक्रम निर्माणका लागि आवश्यक सहयोग गर्ने युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।
सल्लाहकार रविन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पत्रकार रमेश तिवारीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका नविन भण्डारीले स्वागत गर्नुभएको थियो ।