
आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘परिवर्तन’ हेरिदिन चलचित्रका कलाकारले आग्रह गरेका छन् ।
चलचित्रका नायक सुशील श्रेष्ठ,नायिका अञ्जनाबराइली लगायतले नेपाली चलचित्र ‘परिवर्तन’ले झापा र सीमानाको कथा बोलेकाले नेपाली चलचित्र ‘परिवर्तन’ हेरिदिन आग्रह गरेका हुन् ।
चलचित्र निर्देशक विजय केरुङले नेपाली चलचित्र ‘परिवर्तन’ ले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे। उनले एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको यो चलचित्र ले दर्शकलाई बाँध्ने विश्वास गरे।
सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई चलचित्रको पर्दामा उतारेको उनको भनाई छ।
नेपाली चलचित्र ‘परिवर्तन’ का निर्माता दिपक शिवाकोटीले चलचित्र राम्रो बनेको बताउँदै नेपाल तथा विदेशमा एकैसाथ आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको जनाए ।
एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएकाले यसले दर्शकको मन जित्न सफल हुने उनको भनाई छ। चलचित्रमा अभिनेता सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा प्रस्तुत भएका छन् भने अभिनेत्री अञ्जना बराईली प्रहरी इन्पेक्टरको भुमिकामा देखिएकी छिन्।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराईली का अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ भने झापाली कलाकारहरूको समेत भूमिका रहेको छ।
चलचित्रका झापाली कलाकार याम खरेल र गौतम तिवारीले सम्पूर्ण झापाली महानुभावहरूलाई चलचित्र हेरिदिन आग्रह गरे।
दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् भने चलचित्रको निर्देशन विजय केरुङले गरेका छन्।
बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठको रहेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गरेको बताइएको छ।






