
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं –३ स्थित साकेला थान नजिक धुलाबारी–बुधबारे भित्री सडक खण्डमा आज साँझ ६:४० बजे सवारी चेकजाँचका क्रममा लागूऔषध जस्तो देखिने पदार्थ बरामद गरिएको छ।
निर्वाचन क्षेत्र नं. १ को सुरक्षार्थ खटिएको टोलीले सशस्त्र प्रहरी नायब निरीक्षक केदार श्रेष्ठको कमाण्डमा धुलाबारीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ६१७ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो। टोलीमा ९ जना सुरक्षाकर्मी परिचालित थिए।
जाँचका क्रममा अटो चालक झापा जिल्ला बुद्धशान्ति गाउँपालिका–४ बस्ने वर्ष २३ का सनम शेर्पाको साथबाट १.०१ ग्राम लागूऔषध जस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद भएको सशत्र प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थ, अटो तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि साँझ ७:५० बजे इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
यस सम्बन्धमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालय झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक रोहित बहादुर घिमिरेले घटनाको पुष्टि गर्दै कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनु भयो ।




