
इलाम, कात्तिक ः इलामको माइपोखरीमा त्रिधार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर १ गतेदेखी ८ गतेसम्म धार्मिक महोत्सवसँगै श्रीमदभागवत महापुराण सप्ताह समेत सञ्चालन हुने भएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको आयोजक मुल समितिले जानकारी गराएको छ ।
हिन्दु, बौद्ध र किरात धर्मग्रन्धको प्रचार सहितको महोत्सव सञ्चालनका लागि मुल आयोजक समिति गठन गरेर काम अगाडी बढाइएको छ ।
धार्मिक आस्था भएकै कारण यहाँ बिभिन्न धर्म, संस्कृति र जातजातीका मानिसहरु आउने गरेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताए । उनले पवित्र धार्मिक भुमीको बारेमा अघिल्लो पुर्खाले सिकाएको र भावि सन्ततीका लागि पनि जोगाएर राख्न आवश्यक रहेको उनको भनाई छ ।
कुनैबेला इलामको माईपोखरी धार्मिक भक्तजनको प्रमुख रोजाईमा पर्ने गरेको भएपनि पछिल्लो समय धार्मिक पर्यटकहरुको कमी हुन थालेपछि धार्मिक पर्यटकको संख्या बढाउन महोत्सवको तयारी गरिएको मुल आयोजक समितिका अध्यक्ष प्रेमकुमार राईले बताए । भक्तजनको भिडम्भाड रहने माइपोखरीमा पछिल्लो समय तिर्थालु भक्तजन घट्न थालेपछि माइपोखरीको धार्मिक महत्व जगाउने उदेश्यले धार्मिक उत्सव आयोजना गरिने उनको भनाई छ ।
बिभिन्न ठाउँमा धर्मका नाममा आतंक मच्चिने गरेकाले पनि धार्मिक सहिष्णुता बचाउन बिभिन्न धर्ममान्ने मानिसहरु एकै ठाउँमा उभिएको उनले बताए । धार्मिक पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाकै पहलमा धार्मिक मेला आयोजना गरिने भएको हो । सबै जातजातिको धर्मप्रतिको मोहलाई सम्मानका साथ धार्मिक मेला आयोजना गर्न लागिएको आयोजक समितिका उपाध्यक्ष गृष्म सुब्बाको भनाई छ । नौ वटा कुनामा फैलिएको माइपोखरी सुन्दर र हरियाली भएपनि यसको कम प्रचार भएका कारण पर्यटकहरुको संख्या घट्दै गएपछि नयाँ उत्साह जगाउन लागिएको सचिव दिनेश सुवेदीको भनाई छ ।
हालसम्म बैंक खाता खोलिएको र आर्थिक संकलन हुन थालेको आर्थिक समिति संयोजक नेत्रप्रसाद रिजालले बताए । उनले सहयोगका लागि कतै पनि रकम तोक्ने काम नभएको तर सबै जातजाती र धर्मावलम्बीकै कार्यक्रम भएकाले रकम जुट्नेमा आफुहरु ढुक्क रहेको बताए ।
धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको माईपोखरीलाई प्रचार गर्न सके देश बिदेशका पर्यटकहरु भित्रिने भएकाले प्रचारका लागि पनि महाउत्सव गर्न लागिएको प्रसारप्रचार समितिका संयोजक श्यामकुमार राईको भनाई छ ।
बिश्व रामसार क्षेत्रमा सुचिकृत माइपोखरीको महत्व र यसले वातावरण सन्तुलनमा पारेको प्रभावलाई समेत उजागर गर्न यो कार्यक्रमले गर्न लागिएको हो ।
यहाँ हरिबोधनी एकादशीको दिन मेला लाग्दै आएको छ । परापूर्वकालदेखी यहाँ मेला लाग्दै आएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि यहाँ आउने हरिबोधिनी एकादशीकै अवसरमा मेला लाग्ने गरेको छ ।