
बुद्धशान्ति गाउँपालिका–३ वडा कार्यालयले भूमिहीन सुकुम्बासी तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको घरटहरा नहटाउन सार्वजनिक अपिल जारी गरेको छ।
वडा कार्यालयले जारी गरेको अपिलमा संघीय सरकार तथा जिल्ला प्रशासन कार्यालय झापाबाट सरकारी तथा ऐलानी जग्गामा बसोबास गर्ने व्यक्तिहरूको विवरण माग गरिएको सूचना र काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटनापछि स्थानीय नागरिकमा त्रासको वातावरण सिर्जना भएको उल्लेख गरिएको छ।
वडा कार्यालयले बुद्धशान्ति–३ क्षेत्रमा ऐलानी जग्गामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अन्य नागरिकको बसोबासको स्पष्ट व्यवस्था नभएसम्म कसैले पनि उनीहरूको घरटहरा नभत्काउन आग्रह गरेको छ।
अपिलमा ती नागरिकले आफ्नै पेशा, व्यवसाय तथा श्रममार्फत जीवनयापन गरिरहेको उल्लेख गर्दै मानवीय संवेदनशीलता अपनाउन सबै पक्षसँग अनुरोध गरिएको छ।
उक्त अपिल वडा अध्यक्ष परशुराम चेम्जोङ सुब्बाद्वारा जारी गरिएको हो।




