
माघे सङ्क्रान्तिलाई लक्षित गरी पछिल्लो एक सातामा मात्रै काठमाडौंको कालीमाटीमा ७ सय ९० टन तरुल भित्रिएको छ । माघे सङ्क्रान्तिमा तरुल खाने चलन छ ।
कालीमाटी तरकारी तथा फलफूल व्यापार विकास समितिका अनुसार पछिल्लो एक महिनामै १२ सय ११ टन तरुल काठमाडौंमा आयात भएको हो । जबकि यो वर्षको हालसम्म १४ सय ८९ टन भित्रिएको तथ्यांक छ ।
गत वर्ष १६ सय ९३ टन आयात भएको थियो । पछिल्ला केही दिनयता कालीमाटीमा अन्य तरकारीको तुलनामा तरुलको व्यापार बढेको छ ।
पछिल्ला केही दिनयता दैनिक १० क्विन्टलसम्म तरुल बिक्री हुने गरेको छ । साताअघि भने दैनिक २ क्विन्टलसम्म बिक्री हुने गरेको थियो । साताअघिसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको तरुल अहिले होलसेलमै प्रतिकिलो ६० रुपैयाँभन्दा माथि पुगेको छ ।
तरुलको खुद्रा मूल्य पनि सोही दरमा महँगिएको छ । जातअनुसार मूल्य फरक-फरक छ । नेपाली बजारमा घर तरुल, वन तरुल, पातले, मुढेलगायतका जातका तरुल पाइन्छन् । काठमाडौंमा सबैभन्दा धेरै तरुल सर्लाहीबाट ल्याइन्छ ।
त्यस्तै सुनसरी, धादिङ, मकवानपुर, चितवनलगायतका जिल्लाबाट पनि काठमाडौंमा तरुल ल्याइन्छ ।