
सवारी दुर्घटनामा मृत्यु भएका बाबु–छोराको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि इलामको हर्कटेमा आइतबार दिउँसोदेखि अवरुद्ध मेची राजमार्ग साँझ खुलेको छ । मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३, हासपोखरीमा भएको दुर्घटनामा टिपरको ठक्करबाट बाबु–छोराले ज्यान गुमाउनुपरेपछि मृतकका आफन्तले मेची राजमार्गको हर्कटे र कन्याम क्षेत्रमा यातायात अवरुद्ध पारेका थिए । उनीहरूले ठक्कर दिने टिपरले क्षतिपूर्ति नदिउञ्जेल अस्पतालबाट शव नउठाउने अडानसमेत राखेका थिए ।
पशुपतिनगर इलाका प्रहरी कार्यालयमा भएको छलफलमा टिपर व्यवसायीले पीडित परिवारले राखेको माग (क्षतिपूर्ति) पूरा गर्ने सहमति जनाएपछि राजमार्ग बन्द खुलाइएको पीडित परिवारका दीपक राईले जानकारी दिए ।
उनका अनुसार क्षतिपूर्ति दिने सहमति भएपछि शव उठाउन परिवारका सदस्य झापाको बिएन्डसी अस्पताल गएका थिए । ‘क्षतिपूर्ति दिइने भएपछि शव उठाउने र बन्द राजमार्ग खुलाउने सहमति भयो,’ उनले भने ।
शुक्रबार साँझ टिपरले ठक्कर दिँदा मेची राजमार्गको रोङ गाउँपालिका–३, हासपोखरीमा मोटरसाइकलमा सवार सूर्याेदय नगरपालिका–६, फाजीगाउँका ४० वर्षे दीर्घराज राई र उनका बुबा ७० वर्षे पवनकुमार राईको मृत्यु भएको थियो । झापाबाट घर फर्किंदैगर्दा दीर्घराजले चलाएको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट गइरहेको को १ ख ६४६२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते दुवैजनाको उपचारक्रममा झापाको बिएन्डसी अस्पतालमा त्यसै दिन मृत्यु भएको थियो । टिपर चालक इलामको माइजोगमाई गाउँपालिका २, शान्तिचोकका ३० वर्षे खगेन्द्र थामीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।