पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङबुङमा विष्फोट हुँदा गम्भीर घाइते अढाई वर्षीया बालिकाको मृत्यु भएको छ ।
आज (बिहीबार) फालेलुङ ५, डाँडागाउँमा विष्फोट हुँदा दुई बालक र एक बालिका घाइते भएका थिए । प्रहरीका अनुसार स्थानीय दिलीप साँवाकी अढाई वर्षकी छोरी प्रिन्साको उपचारका लागि झापा लैजाँदैगर्दा बाटैमा मृत्यु भएको हो ।
प्रिन्साका दाजु ११ वर्षे दिप्सन पनि घटनामा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि झापा लगिँदैछ । अर्का छिमेकी ज्ञानबहादुर राईका नौ वर्षे छोरा पवन राई सामान्य घाइते छन् ।
प्रहरीले विष्फोट भएको वस्तुलाई ‘होम मेड ग्रिनेड’ भनेको छ । विष्फोट भएको स्थानीय आइतराज केरुङको घरमा अर्काे पनि यो वस्तु फेला परेको प्रहरीको भनाइ छ । घटनास्थलमा नेपाली सेनाको टोली पनि जाँदैछ ।
जिल्ला प्रहरी प्रमुख हेमन्त भण्डारीले घटनाको थप अनुसन्धान भइरहेको बताए ।
दिउँसो साढे २ बजेतिर बालबालिका खेलिरहेका बेला डल्लो आकारको देखिने वस्तु विष्फोट भएको थियो ।