झापा अर्जुनधारा–६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ ।
हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिषा लोहार भएको खुलेको हो । त्यस्तै उनलाई छुरा प्रहार गर्ने युवक कैलाली जिल्ला स्थायी ठेगाना भएका अन्दाजी २० वर्षका अनिल विक भएको बुझिएको छ ।
छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बिएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा साँझ ७ बजे उनको मृत्यु भएको हो । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।
छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ ।