
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको स्मरणमा आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा एवं भक्ति पूर्वक मनाइँदै छ।
पौराणिक कथनअनुसार अत्याचार, अन्याय र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको मानिन्छ।
कंशको कारागारमा वासुदेव र देवकीको आठौँ गर्भबाट जन्मिएका श्रीकृष्णको जन्मबेला सेनाको कडा सुरक्षा हुँदाहुँदै पनि विष्णुको मोहिनी शक्तिका कारण सबै सैनिक गहिरो निद्रामा परेका थिए।
त्यसै अवसरमा आकाशवाणीमार्फत वासुदेवलाई नवजात कृष्णलाई वृन्दावनस्थित मित्र नन्दको घरमा पुर्याउन निर्देशन भएको धार्मिक विश्वास छ। यही कारण यो रातलाई ‘मोहरात्रि’ पनि भनिन्छ।
बाल्यकालदेखि नै लीला र वीरताका प्रतीक बनेका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेका थिए। मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी र वासुदेवलाई मुक्त गराएका उनी सत्कर्म, सत्य र धर्मका पक्षधरका रूपमा जीवनभर उदाहरणीय रहे।
महाभारतकालीन धर्मयुद्धमा पाँच पाण्डवमध्ये अर्जुनका सारथी बनेका श्रीकृष्णले युद्धभूमिमा सत्य र धर्मको पक्षमा लड्न प्रेरित गरेका थिए। यही क्रममा उनले अर्जुनलाई दिएको उपदेश नै पवित्र ग्रन्थ ‘श्रीमद्भगवत् गीता’ हो। गीतामा उनले भनेका छन्-
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।”
अर्थात्, जब जब धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ, तब तब म धर्मको रक्षा गर्न पृथ्वीमा अवतरित हुन्छु।
श्रीकृष्णको जीवन न्याय र धर्मका लागि विनाश र युद्धको प्रतीक मात्र नभई शान्ति, प्रेम र मानवताको प्रतीक पनि हो। गोविन्द, कान्हा, मुरलीमनोहर, माखनचोर, श्यामसुन्दर लगायतका नामले पुकारिने कृष्ण आज पनि जगतका घटनाको मूल सर्जकका रूपमा पूजनीय छन्।