
झापाको बुद्धशान्ती गाउँपालिका–४ बर्नेमा अवस्थित लाफा मगर समाजको आयोजनामा आज माघ १ गते माघे सक्रान्ती तथा मगर समुदायको नयाँ वर्षको अवसर पारेर मगर समुदायको सांस्कृतिक खानपान, भेषभूषासहित शुभकामना तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा समाजसेवामा सक्रिय योगदान पुर्याएका ६ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा यदुमाया मगर, ज्ञान बहादुर मगर, अगम मगर, बुद्धवीर गुरुङ, मान बहादुर मगर र याम बहादुर राना मगर रहेका छन्।
कार्यक्रमको अध्यक्षता तथा स्वागत मन्तव्य बुद्धशान्ती मगर संघका अध्यक्ष शिव थापा मगरले गर्नुभएको थियो भने शुभकामना मन्तव्य बुद्धशान्ती मगर संघकै निवर्तमान अध्यक्ष मदन मगरले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लक्षुमन मगरले गर्नुभएको थियो।
कार्यक्रममा मगर समुदायको मौलिक संस्कृति झल्किने विभिन्न परिकारहरू तरुल, चाकु, सेलरोटी लगायतको व्यवस्था गरिएको थियो। साथै तातो आलु, हण्डी फुटाइ, गीत तथा नृत्यजस्ता रमाइला खेल तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमले मगर समुदायको सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।






