
रौतहटको देवाहीगोनाही नगरपालिकामा कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको मेलाको उद्घाटनलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँचजना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीका अनुसार देवाहीगोनाही–९ धरहरीटोलस्थित ऐतिहासिक कृष्ण मन्दिर प्राङ्गणमा लाग्ने वार्षिक श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर बिहीबार दिउँसो विवाद उत्पन्न भएको थियो।
झडप कसरी भयो ?
स्थानीय स्तरमा लामो समयदेखि लाग्दै आएको कृष्ण जन्माष्टमी मेलाको उद्घाटन यसपटक कसरी गर्ने भन्ने विषय विवादको मूल कारण बनेको प्रहरीको भनाइ छ। नगरप्रमुख कानु पक्षले रिबन काटेर औपचारिक उद्घाटन गर्नुपर्ने अडान लिएको थियो भने अर्को पक्षले “मेला समुदायकै हो, त्यसलाई कुनै औपचारिक उद्घाटन नगरी परम्परागत ढंगले सञ्चालन गर्नुपर्छ” भन्ने अडान राखेको थियो।
दुवै पक्षबीच दिनभर वाकयुद्ध चले पनि दिउँसो मन्दिर परिसरमै विवाद चर्किँदै गएपछि स्थिति नियन्त्रण बाहिर पुगेको डीएसपी कार्कीले जानकारी दिनुभयो। विवाद मौखिक कटाक्षबाट सुरू भई धक्का–मुक्की हुँदै झडपमा परिणत भएको थियो।
पाँचजना घाइते झडपका क्रममा नगरप्रमुख साह कानुको टाउकोमा गहिरो चोट लागेर १७ वटा टाँका लगाउनुपरेको छ। त्यस्तै, प्रहरी वरिष्ठ हवलदार जगदीशराय यादव र धनसुन्दर ठाकुर पनि घाइते भएका छन्। यादवको टाउकोमा पाँचवटा र ठाकुरको टाउकोमा चारवटा टाँका लगाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी स्थानीय रामविकाश साह र श्यामविनय साह घाइते भएका छन्। सबै घाइतेलाई प्रारम्भिक उपचारपछि गरुडास्थित बेटर नेपाल अस्पतालमा भर्ना गरिएको छ।
तीन जना पक्राउ प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा देवाहीगोनाही–९ का अन्दाजी ३५ वर्षीय राधामोहन साह, सोही उमेर समूहका विनोद साह र अन्दाजी २१–वर्षीय रीतिक साह रहेका छन्। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय अवस्था झडपपछि केही समय मन्दिर क्षेत्र तनावग्रस्त बनेको थियो। तर प्रहरीको तत्काल हस्तक्षेपपछि स्थिति सामान्य भएको छ। अहिले मेला सञ्चालन भइरहे पनि सुरक्षालाई कडा पारिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। मन्दिर परिसर र आसपासमा अतिरिक्त प्रहरी बल परिचालन गरिएको छ।
स्थानीय समाजसेवीहरूले मेलालाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न दुवै पक्षलाई अपिल गरेका छन्। “यो धार्मिक र सांस्कृतिक उत्सव हो, यसलाई राजनीतिक वा व्यक्तिगत विवादसँग जोड्नु अनुचित हुन्छ,” एक स्थानीय अगुवाले भने।
मेलाको महत्व देवहीगोनाही–९ स्थित कृष्ण मन्दिरमा वर्षेनी हजारौँ भक्तजन कृष्ण जन्माष्टमीको अवसरमा भेला हुने गरेका छन्। धार्मिक मेलासँगै व्यापार, साँस्कृतिक कार्यक्रम र सामाजिक भेटघाटका कारण यसलाई ठूलो पर्वको रूपमा लिइन्छ। यसपटक पनि विभिन्न सांस्कृतिक प्रस्तुति, भजन–कीर्तन र धार्मिक अनुष्ठान गर्ने तयारी गरिएको थियो। तर उद्घाटनको तरिका विषयमा विवाद हुँदा यसले अप्रिय मोड लिएको हो।
प्रहरीले घटनापछि स्थिति नियन्त्रणमा लिई मेलालाई निर्विघ्न सञ्चालन गर्न आवश्यक व्यवस्था गरेको जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको छ।
स्थानीय तहमा यस्ता विवाद दोहोरिन नदिनेगरी मेलाको व्यवस्थापन गर्न सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गरिएको छ।,समाचार पुर्ब खबर डटकम बाट