
झापाकाे बुद्वशान्ति गाउँपालिका-४ मा भारतीय नम्बर प्लेटकाे स्कर्पियाेले विपरीत दिशातर्फ जाँदै गरेकाे प्र.१-०१-०१६ प.३६६१ नम्बरको माेटरसाइकललाई ठक्कर दियाे । बिआर ५५८५०० नम्बरकाे स्कर्पियाेकाे ठक्करबाट बुद्धशान्ति -१ बस्ने ४६ बर्षका ठाकुर अधिकारी गम्भीर घाइते भए । तत्काल उनलाई बिर्तामाेडकाे एक अस्पतालमा उपचारका लागि लगियाे । उनकाे उपचारकै क्रममा साेही दिन ६ बजेतिर मृत्यु भयाे । स्कर्पियाे चालक राैतहटकाे बृन्दावन नगरपालिका-२ का प्रमाेद पटेल थिए । उनलाई दुर्घटना लगत्तै प्रहरीले नियन्त्रणमा लियाे ।
नेपाली नागरिकले अर्काे देशकाे सवारीसाधन चलाएकाे समयमा दुर्घटना भएकाे अवस्थामा बीमा सम्बन्धी व्यवस्था आकर्षित हुँदैन । चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी नियम पनि झापामा उल्लंघन भइरहेका छन् । प्रचलित ट्राफिक ऐन अनुसार, नेपाली नागरिकले भारतीय नम्बर प्लेटको गाडी चलाउन चाहेमा अनिवार्य रूपमा भारतीय ड्राइभिङ लाइसेन्स हुनु आवश्यक हुन्छ । तर केही नेपालीले भारतीय लाइसेन्स वा बिना लाइसेन्स नै भारतीय गाडी चलाउने गरेको पाइएको छ । नेपालको कानुन अनुसार, भारतीय नम्बर प्लेटका गाडीहरू भन्सार शुल्क तिरेर नेपालमा १५ दिनसम्म मात्र राख्न पाइन्छ । सो अवधिपछि थप समय आवश्यक भएमा सम्बन्धित भन्सार कार्यालयमा शुल्क तिरेर अनुमति लिएर अधिकतम ६ महिना सम्म नेपालमा राख्न सकिन्छ । तर, झापामा यस्तो नियमको पालना हुन छोडेको देखिन्छ ।
झापामा धेरै स्थानीयले भारतीय नम्बर प्लेट भएका सवारी साधन प्रयोग गरिरहेका छन् । स्थानीय बासिन्दाहरूका अनुसार, केही महिना यता दैनिकजसो दर्जनौं भारतीय नम्बर प्लेटका गाडीहरू यहाँ सहज रूपमा आवतजावत गरिरहेका छन् । तर, त्यस्ता गाडीहरूको अनुगमन र नियन्त्रणमा सरोकारवाला निकाय निष्क्रिय देखिएको छ ।
स्थानीयवासीले चेकजाँच हुँदै गरेको स्थानमा भारतीय सवारीलाई प्रहरीले देखेको नदेखेई गर्ने गरेको आरोप लगाउँछन् । ट्राफिक प्रहरीसँगको सेटिङमा भारतीय सवारीसाधन नेपालमा प्रयोग हुने क्रम बढेको आरोप उनीहरुको छ ।
स्थानीय र सर्वसाधारणले यस्तो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सडकमा ट्राफिकको उपस्थिति कमजोर भएको र अवैध सवारी साधन व्यवस्थापनमा गम्भीर बेवास्ता भएको आरोप लगाएका छन् ।
स्थानीयवासीहरू भने तत्काल निरीक्षण, अनुगमन र कडाइको माग गर्दै छन्। यदि प्रशासनले यथाशीघ्र ध्यान नदिए, विदेशी सवारीको अव्यवस्थित सञ्चालनले दुर्घटना, कर छली, र सीमा सुरक्षामा समेत गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । झापामा ट्राफिक प्रहरीले मासिक रकम असुलेर भारतिय नम्बरका सवारीलाई खुलमखुल्ला कुद्न दिने गरेको समाचार यस अघिनै इखरिपाटीमा प्रकाशित भई सकेको थियो ।समाचार इखरिपाटी बाट प्राप्त ।