
झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा अज्ञात समूहले सिरिन्ज प्रहार गरी एक व्यक्तिको हत्या गरेको छ। हत्या हुनेमा सोही स्थानका बासिन्दा खेम ढकाल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ बजेतिर ढकाल छिमेकीको घरबाट आफ्नो घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको हो। बाटोमै अज्ञात व्यक्तिहरूले ढकालमाथि सिरिन्ज प्रहार गरेको र त्यसपछि उनी गम्भीर घाइते भएको जनाइएको छ।
घटनालगत्तै स्थानीयले ढकाललाई उपचारका लागि ओम सय पाथिभराअस्पताल लैजाने प्रयास गरे पनि अस्पताल पुर्याउनुअघि नै बाटोमै उनको मृत्यु भएको थियो।
हाल ढकालको शव भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा राखिएको छ। घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने स्थानीयवासीले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनामा संलग्न व्यक्ति मधेश प्रदेश तिर रहेको आशंका गरिएको र एमबिबिएस अध्ययनरत विद्यार्थी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि उक्त व्यक्ति एक्लै संलग्न थियो वा समूहमा आक्रमण गरिएको हो भन्ने विषयमा यकिन भइनसकेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गर्ने, प्रत्यक्षदर्शीको सहयोग लिने तथा मृतकसँगको व्यक्तिगत, सामाजिक र अन्य सम्भावित विवादका कोणबाट अनुसन्धान अघि बढाएको छ। सिरिन्जमार्फत के प्रकारको पदार्थ प्रयोग गरिएको हो भन्ने विषयमा समेत थप परीक्षणका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाको कारण र आक्रमणको उद्देश्य हालसम्म खुल्न सकेको छैन। व्यक्तिगत रिसइवी, आपराधिक गतिविधि वा अन्य कारणबाट घटना भएको हो कि भन्ने विषयमा सबै पक्षलाई समेटेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई छिट्टै नियन्त्रणमा लिने दाबी गर्दै सर्वसाधारणलाई अफवाहमा नलाग्न र शान्ति सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।





