इलामको – सूर्याेदय नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका छोरी–बुहारीलाई सय दिनको रोजगारी दिने भएको छ ।
नगरले विद्यार्थीले पढेको संकाय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा रोजगारी दिने तयारी गरेको हो ।
सूर्याेदय नगरमा बिहे भएर आएका बुहारी र यहाँका छोरीहरूलाई नगरले करफोक क्याम्पसमा स्नातक तहको पढाइमा शतप्रतिशत छात्रवृत्ति दिएको छ । बिहे भएर घर आएपछि बुहारीलाई पढाउनुपर्छ भन्ने सोच सबैमा विकास गर्न नगरले चार वर्षयता ‘छोरी–बुहारी’लाई छात्रवृत्तिको कार्यक्रम कार्यान्वयन गरेको छ ।
मेयर रणबहादुर राईले छात्रवृत्तिमा स्नातक उत्तीर्ण महिलालाई प्रोत्साहन गर्न छोटो समयको भएपनि रोजगारी दिन लागिएको बताए । ‘बुहारीलाई पनि बढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरले यो कार्यक्रम ल्याएको हो,’ मेयर राईले भने, ‘छात्रवृत्तिमा अध्ययन गरेका छोरी–बुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरी–बुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको छ ।’
मेयर राईले रोजगारीको अवसर छोटो समयका लागि भएपनि उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सहयोग गर्न सहयोगी बन्ने बताए । ‘स्नातक गरेका छोरी–बुहारीलाई रोजगारीको कार्यक्रमले थप सिकाइ हुनेछ,’ उनले भने, ‘उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग लिन पाउने छ ।’
उनीहरूलाई उनीहरूमा भएको क्षमताअनुसार नगर तथा अन्तर्गतका कार्यालय, विद्यालय, स्वास्थ्य संस्थालगायतमा रोजगारी दिइने छ ।
नगरको छात्रवृत्ति पाएका महिलाले विभिन्न संकाय र विषय अध्ययन गरिरहेका छन् । उनीहरूलाई उनीहरूमा भएको क्षमताअनुसार नगर तथा अन्तर्गतका कार्यालय, विद्यालय, स्वास्थ्य संस्थालगायतमा रोजगारी दिइने छ ।
नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरलगायत विद्यार्थीको जुन क्षेत्रमा योग्यता छ, त्यसैको रोजगारी दिइने बताए । ‘कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन हुनेछ,’ उनले भने, ‘यसको कार्यविधि बन्न बाँकी छ तर इच्छुक विद्यार्थीका लागि सूचना जारी गरिसकिएको छ ।’
नगरको छात्रवृत्ति कार्यक्रममा अहिलेसम्म एक सय ५३ छोरी–बुहारीले स्नातक अध्ययन गरेका छन् । तीमध्ये २३ जनाले उत्तीर्ण गरेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले बताए । अबको वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरी–बुहारीको संख्या दुुई सय पुग्दैछ ।
कट्टेलले नगरको छात्रवृत्ति कार्यक्रमले दूरदराजका छोरी–बुहारीले क्याम्पस पढ्न पाएको बताए । ‘दूरदराजमा बसोबास गर्ने छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ,’ उनले भने, ‘छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि हुने भएपछि छात्राहरूलाई थप प्रोत्साहन मिलेको छ ।’