झापाको दमकदेखि इलाम हुँदै पाँचथर सीमा रवि जोड्ने फाल्गुनन्द सडक निर्माण कार्य लामो समयदेखि अधुरै रहेपछि प्रशासनले चासो देखाएको छ।
माङ्सेबुङ गाउँपालिकाले निर्माणाधीन सडकको काम ज्यादै ढिलासुस्ती भएको भन्दै पत्राचार गरेको तीन महिनापछि भएपनि प्रशासनले निर्माणकर्तासहित सरोकारवालाको बैठक बोलाएको छ।
निर्माणमा भइरहेको ढिलासुस्तीबारे चौतर्फी आलोचना भएपछि बसेको जिल्लास्थित सरोकारवालाको बैठकले त्यो सडक तत्काल अनुगमन गर्ने निर्णयसमेत गरेको छ। साथै, पटक–पटक म्याद थप्दासमेत निर्माण सम्पन्न नभएको सडक आउँदो बर्खाअघि नै सक्नसमेत निर्माण कम्पनीलाई सचेत गराइएको छ।
फाल्गुनन्द सडकको घर्तीदोभानदेखि चिसोपानीसम्मको खण्ड सवारीका साधन नै चल्न नसक्ने गरी बिग्रिएको बैठकमा जानकारी गराइएको थियो। त्यो खण्ड यही पुस १० भित्र मर्मत गर्न बैठकले निर्माण कम्पनीलाई ध्यानाकर्षण गरेको छ।
बैठकले सडकको निर्माण गति अत्यन्त सुस्त भएको, निर्धारित मितिमा निर्माण सम्पन्न नहुने निष्कर्ष निकाल्दै गणपति कन्स्ट्रक्सन र किरातेश्वर कन्स्ट्रक्सनलाई काममा सचेत गराएको हो।
बैठकमा निर्माण कम्पनीका प्रतिनिधिमाथि सरोकारवालाले चर्को गुनासो पोखेका थिए। माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ठेकेदार कम्पनीले ज्यादै लापरबाही गरेकाले यो सडकको निर्माण गति सुस्त भएको बताए।
पालिकाले ठेकेदार कम्पनीलाई सकेसम्म सहयोग गरेको छ, हामीले इन्धनसमेत दिएर सहयोग गरेका छौं,’ उनले आक्रोश पोखे, ‘हामीले नागरिकलाई के जबाफ दिने ? काम नगर्ने ठेकेदार, दोष हामीले खेप्नुपर्ने भएको छ।’
अध्यक्ष राईले सडकको काम सहज बनाउन स्थानीय खोलानालामा गिटीबालुवाको ठेक्कासमेत नलगाएर सहयोग गरेको बताए।
‘सडक निर्माण सहज बनाउन गत वर्ष ५५ लाखका ठेक्का लागेको सडक यो पटक हामीले लगाएनौं,’ उनले भने, ‘हामीले कति सहयोग गर्नुपर्यो अझै ? कहिलेसम्म जनप्रतिनिधि र नागरिकलाई ढाँट्ने ?’ उनले अब पनि काम नभए गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए।
निर्माण कम्पनी प्रतिनिधिले भने कोभिडको पहिलो र दोस्रो लहर नै सबैभन्दा ठूलो कारण देखाएर जोगिने प्रयास गरेका थिए। पटक–पटक म्याद थप्दासमेत काम गर्न नसकेको कमजोरी भने दुवै कम्पनीका प्रतिनिधिले स्वीकारेको योङहाङले बताए।
फाल्गुनन्द मार्ग निर्माण सुरु भएको तीन दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। दमक–चिसापानी कालोपत्रेका लागि ठेक्का लागेको वर्षौँ भइसकेको छ। दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिए पनि आधासमेत काम भएको छैन।
यो सडक निर्माणका लागि तीन खण्डमा गरी पाँच वर्षअघि नै ठेक्का लागेको थियो। तीन वर्षमा काम पूरा गर्ने सम्झौता रहे पनि पटक–पटक म्याद थप्दा काम नसकिएको हो।
दमकबाट सात किलोमिटरको पहिलो खण्ड महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २०७५ साल साउन अन्तिममा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएको थियो। तर, चौथो पटक म्याद थप्दा ६२ प्रतिशत मात्र काम भएको दमकस्थित सडक डिभिजनले जनाएको छ।
लुम्बिनी–गणपति जेभीले दोस्रो १५ किलोमिटर र तेस्रो खण्ड ११ किलोमिटर निर्माणका लागि ठेक्का लिएको छ। दोस्रो खण्ड ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो खण्ड ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको छ। तर, कामको गति ज्यादै सुस्त रहेको डिभिजनले जनाएको छ।