नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ सम्मिलित पन्जाब एफसीले इन्डियन सुपर लिग आईएसएलमा पहिलो जित दर्ता गरेको छ ।
सोमबार सम्पन्न खेलमा चेन्नाई एफसीविरुद्ध १–० को जित हात पार्दै घरेलु टोली पन्जाबले आईएसएल इतिहासकै आफ्नो पहिलो जित दर्ता गरेको हो ।
पन्जाबको जितमा मादिह तलालले खेलको ५६ औं मिनेटमा एकमात्र गोल गरे । नेपाली कप्तान किरणले पुरै खेल अवधि भर पन्जाबको पोस्ट सम्हाल्दै क्लिन सिटसमेत राख्न सफल भए । जारी लिगमा केही खेल गुमाएका किरण पछिल्लो ३ खेल यता पहिलो रोजाइमा पर्दै आएका छन् ।
गत सिजनको आई–लिग उपाधि जित्दै पंजाब पहिलो श्रेणीको प्रतिस्पर्धा आईएसएलमा बढुवा हुने पहिलो टोली बनेको थियो । यस सिजन भने आईएसएलमा कुनै टोली बढुवा र घटुवा हुने छैनन् ।
पन्जाब ११ खेलमा १ जित, ५ बराबरी र ५ हारसहित तालिकाको १० औं स्थानमा छ । पराजित चेन्नाई समान खेलमा १२ अंकसहित छौठौँ स्थानमा छ ।