दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को विजेताले ७० लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने भएको छ । जुन अघिल्लो संस्करणभन्दा दोब्बरले बढी हो । साविक विजेता काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो ।
नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले दोस्रो क्वालिफायर अघि जारी गर्दै प्रतियोगिताको पुरस्कार राशी घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले २० लाख रुपैयाँ पाउँने छ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र इमर्जिङ खेलाडीले पाउने पुरस्कार राशी पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र इमर्जिङ खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
धनगढी एफसी एनएसएलको फाइनलमा प्रवेश गरिसकेको छ भने पोखरा थन्डर्स र ललितपुर सिटी एफसी फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्दै छन् । काठमाडौं रेजर्स इलिमिनेटरमा मंगलबार ललितपुरविरुद्ध हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि एनएसएलले नयाँ च्याम्पियन पाउने पक्का भएको छ ।