इलामको सूर्योदय नगरपालिका पूर्वी नेपालको ढोका मानिन्छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेको यो नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल मानिन्छ । यसै नगरपालिकाको अन्तुबाट देखिने सूर्योदयका कारण इलामलाई सूर्योदयको जिल्ला भनेर पनि चिनिन्छ ।
चियाको राजधानीका रूपमा रहेको यो नगरपालिका जिल्लाकै बढी चिया उत्पादन हुने क्षेत्र हो । अन्तु, कन्याम जस्ता पर्यटकीय क्षेत्रका यो नगर पर्यटनमा कहलिएको छ । प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरेको यो नगरपालिका यसअघि नै बालमैत्री नगर घोषणा भइसकेको छ । पोषणमैत्री नगर घोषणाको तयारीमा छ ।
पेपरलेस अभियानमा जुटेको नगरले सबै सेवा अनलाइनबाटै गर्ने गरेको छ । यस नगरमा पछिल्लो समय नगरका असल अभ्यास हेर्न र सिक्न देशभरका पालिकाका जनप्रतिनिधि आउने गरेका छन् ।
नगरमा विदेशी दातृ निकायको समेत राम्रो लगानी रहेको छ । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट विजयी रणबहादुर राई विकासप्रेमी नगरप्रमुखका रूपमा परिचित हुनुहुन्छ । दोस्रो कार्यकालमा काम गरिरहनुभएका प्रमुख राईसँग पत्रकार प्रेम अधिकारीले गर्नुभएको कुराकानी : तपाईंसहितको नगरपालिकाको समूह हालै छिमेकी मुलुक चीनको भ्रमणबाट फर्किएको छ । उक्त भ्रमणको उपलब्धि के रह्यो ?
छिमेकी मुलुक चीनको भ्रमण उपलब्धिमूलक रह्यो । हामी छ दिनका लागि चीन गएका थियौँ । चियाको व्यावसायिकता र बजारीकरणको काम भयो । भ्रमणमा जाँदा हामीले के पायौँ भने चीनमा एकप्रकारको बाँस पाइँदो रहेछ । त्यसबाट उनीहरूले निकै राम्रो व्यवसाय पनि सञ्चालन गर्दै आएका रहेछन् ।
हाम्रा खुला ठाउँमा पनि त्यस्तो बास लगाउन सकिने सम्भावना हामीले देख्यौँ । त्यस्तो बाँसले एकै वर्षमा आम्दानी पनि दिने रहेछ । त्यहाँ गरिँदै आएको माछापालन पनि हेर्ने अवसर हामीलाई मिल्यो । उनीहरूले माछापालनमा ठुलो उपलब्धि हासिल गरेको रहेछन् । उनीहरू नेपालमा केही उद्योगधन्दा खोल्न चाहन्छन् । त्यहाँको सङ्घीय, प्रदेश र स्थानीय सरकार यहाँ लगानी गर्न इच्छुक देखिएका छन् ।
के त्यस्तो लगानी सूर्योदय नगरपालिकामा ल्याउन सम्भव छ ?
हो, चिनियाँहरू चिया खेतीमा लगानी गर्न इच्छुक देखिए । माछापालन व्यवसायका लागि पनि अध्ययन गर्ने सहमति भएको छ । बाँस रोप्नका लागि हामीले कति जग्गा उपलब्ध गराउन सक्छौँ, त्यसमा भर पर्छ । उद्योग सञ्चालन गर्न त बाँस धेरै चाहिन्छ । सूर्योदय नगरपालिकाले अग्रसरता लिएर अन्य पालिकामा बाँस रोप्न प्रोत्साहन गर्ने सहमति छ । विदेशी दातृ निकायले पनि विशेष रूपमा हेर्दै आएको सूर्योदय नगरपालिकामा विदेशी साझेदारीका के कस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ?
नेपालमा आएकामध्ये केही राजदूत मात्र यस नगरपालिकामा आउन बाँकी छन् । अमेरिका र कोरियाका राजदूत आउन बाँकी छ । स्विस, जापानलगायतका राजदूत त धेरै पटक आउनुभयो । हामीले सिस्टममा गरेका काम उहाँहरू मन पराउनुहुन्छ । अब नेपाल चाहिँ विकासोन्मुख देशबाट विकासशील देशतर्फ उन्मुख हँुदै छ । उहाँहरू के भन्नुहुन्छ भने सूर्योदयमा उदाहरणीय काम भएका छन् ।
यहाँका कतिपय असल अभ्यासका कुरालाई अन्य पालिकामा पनि लैजानु पर्छ भन्ने उहाँहरूको मान्यता छ । सूर्योदयलाई राम्रो काम गर्ने सिकाइ केन्द्रका रूपमा विकास गर्न उहाँहरूले सुझाउने गर्नुहुन्छ ।
त्यति मात्र नभएर युएन ह्याबिट्याटमार्फत म चीनमा नेपालका पालिकाहरूको प्रतिनिधित्व गरेर पनि गएँ । अर्धविकसित देशको डिजिटलाइजेसन कस्तो छ ? प्रविधिमा पालिकाले कस्तो अभ्यास गरेका छन् भन्नेबारे हाम्रोमा केही उदाहणीय काम भएकाले म नेपालकै प्रतिनिधित्व गरेर गएँ । त्यहाँ ‘सेभेन इन्टरनेसनल हाई लेभल’ को कार्यव्रmममा मैले दुई वटा प्रस्तुतीकरण राखेँ । धेरैले त्यो प्रस्तुतीकरणलाई अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यो हाम्रा लागि महìवपूर्ण थियो ।
मेयर्स एकेडेमी, विश्व बैङ्क, युएन डिआरआर, सिडिआरएफसँंग काम भइरहेको छ । विश्व बैङ्कले कोशी प्रदेशमै सूर्योदय नगरपालिका छानेको छ । स्विस सरकारको साना सिँचाइ आयोजना, सामी, रेमी, इन्र्सोयर जस्ता परियोजना यस नगरमा दातृ निकायको सहयोगमा सञ्चालनमा छन् । कोरियाले समेत पर्यटन क्षेत्रमा काम गर्ने भएको छ ।
यो नगरमा सबै जोखिमका सम्बन्धमा जिपिएस, जिआइएस र आरभिएसमा समेत समावेश गरेका छौँ । यी नै काम उहाँहरूका लागि उदहरणीय बनेको हामीले पाएका छौँ ।
दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्ने भनेर लाग्नुभएको छ । कसरी स्थानीयकरण हुन्छ ?
पहिला हामीले स्थानीयकरणका लागि एसडिजीको भेला राख्यौँ र सबैलाई बुझाएर स्थानीयकरणतर्फ लाग्याँै । हामीले दिगो विकासका १७ वटा लक्ष्यलाई सङ्घ, प्रदेश र स्थानीय सरकारबिच त्यसको दायित्व र जिम्मेवारीको बाँडफाँट गरेका छौँ ।
यहाँ दिगो विकासका लक्ष्यलाई स्थानीयकरण गर्नेभन्दा अनौठो हुन सक्छ । यसलाई यसरी बुझाँै स्वास्थ्यमा हाम्रो दायित्व के हो त ? स्वास्थ्यमा हामीले कति वटा सूचकाङ्क पूरा गर्नु पर्छ ? ती सूचकाङ्कभित्र बसेर बजेट विनियोजन गरी सन् २०३० सम्ममा सबै स्वास्थ्यका लक्ष्य पूरा गर्न सक्नु नै दिगो विकासका लक्ष्यको स्थानीयकरण हो । बाल मृत्युदरको अवस्था कस्तो छ ? पोषणमैत्री नगर बनाउन के गर्ने ? एउटा एउटा गरी लक्ष्य प्राप्त गर्नु नै दिगो विकासका लक्ष्यको स्थानीयकरण हो । शिक्षातर्फ नगरका शतप्रतिशत बालबालिकाले कक्षा ८ पास गरेको हुनुपर्ने छ । साक्षरता प्रतिशत हेरिन्छ, भोकमरीको अन्त्य गर्ने, सिँचाइको व्यवस्था गर्ने गरी बजेटको साङ्केतिकीकरण गरिएको हुन्छ ।
यस नगरपालिकाको बेरुजु शून्य जस्तै छ । सुशासनका हिसाबले नगरको अवस्था कस्तो छ ?
विसं २०७४ तिर यहाँको बेरुजु उच्च थियो । अनि त्यसपछि स्थानीय क्षमता विकास, स्वमूल्याङ्कन, स्थानीय आर्थिक विकासका कुरासँगै हामीले आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्तदुरुस्त रूपमा अगाडि बढायौँ । यो बेरुजु भनेको चाहिँ पालिकालाई हेर्ने एउटा ऐना हो । बेरुजुको अवस्थाले पालिका कहाँ छ भन्ने देखाउँछ । अरूले अङ्क प्राप्त गर्न काम गरे । हामीले संस्थागत सुशासन, क्षमता अभिवृद्धि, सेवा प्रवाह विस्तार र विस्तृतीकरण गर्ने गरी काम गरेका छौँ । नगरपालिका सिस्टममा अगाडि बढेको हुनाले बेरुजु कम भयो ।
कृषि र पशुपालनमा अब्बल छ सूर्योदय । खोरेतमुक्त र ९५ प्रतिशत बाच्छी जन्माउने अभियानको अवस्था कस्तो छ ?
हामीले यहाँका नागरिकलाई यहीँ बस्न योग्य ठाउँ बनाउनु पर्छ । सूर्योदय दुध उत्पादन वृद्धि गर्नु पर्छ भनेर लागेको छ । विसं २०७४ मा दैनिक ३४ हजार लिटर दुध उत्पादन भएको थियो । अहिले त्यो बढेर ८० हजार लिटरभन्दा बढी भएको छ ।
दुध उत्पादन गरेर मात्र भएन, त्यसको बजार सुनिश्चित पनि हुनु पर्छ । नगरले २०७९ सालमा एउटा कार्यविधि बनाएर नगरपालिकालाई खोरेतमुक्त बनाउने कानुन पास गरे पनि सङ्घ र प्रदेशले त्यो कानुन नबनाएका कारण निकै समस्या भयो । नगर, प्रदेश र सङ्घले खोरेतमुक्त प्रमाणित गर्ने कुरा भएन । अन्तर्राष्ट्रिय लेभलबाटै हुनुपर्ने रहेछ ।
नगरपालिका खोरेतमुक्त (एफएमडी) भएन भने दुधबाट उत्पादित वस्तु विदेश निर्यात गर्न सकिँदैन । युरोपलगायतका देशमा दुधका परिकार पठाउन खोरेतमुक्त प्रमाणीकरण भएको हुनै पर्छ । बल्ल अब चाहिँ सङ्घ र प्रदेशले खोरेतमुक्त बनाउने कार्यविधि बनाइसकेपछि गाई जोन बनाउनु पर्छ भनेर व्यापक रूपमा लागेका छौँ । हजाराँै पशुलाई खोप लगाएका छौँ । यसमा प्रदेश र सङ्घले पनि सहयोग गरेको छ ।
हामी दैनिक दुई लाख लिटर दुध उत्पादन गर्ने लक्ष्यमा छाँै । दुई लाख लिटर दैनिक दुध बनाउन बाच्छी चाहियो । त्यो भएकाले युएस र क्यानडाबाट सेक्स सिनेम ल्याएर त्यो बाँडेका छौँ । यसमा किसानको पनि केही लगानी हुन्छ । सेक्स सिमेनबाट ९० प्रतिशत बाच्छी जन्माउने लक्ष्य हो ।
हामी सफल भयौँ । अहिले ९५ प्रतिशत बाच्छी जन्मिएका छन् । पशुको गर्भधारणको दर ठाउँ अनुसार फरक फरक हुन्छ । नेपालकै सबैभन्दा राम्रो गर्भधारण दर इलामलाई मानिन्छ । त्यसमा पनि सबैभन्दा राम्रो सूर्योदय नगरपालिकामा भएको विज्ञहरूले जानकारी दिएका छन् ।
भौतिक पूर्वाधारमा भन्दा बढी लगानी सामाजिक क्षेत्रमा कसरी सम्भव भयो ?
सबैले तत्काल सबै काम खोज्छन् । दुई÷तीन लाख रुपियाँ बजेट हालेर मात्र विकास हुने होइन । नागरिकको सबैभन्दा बढी खर्च शिक्षा र स्वास्थ्यमा हुन्छ । शिक्षा र स्वास्थ्यको खर्च मात्र घटाउन सकियो भने आफैँ गरिबी निवारण हुन्छ । सामुदायिक अस्पतालमा नगएर निजीमा उपचार गराउँदा नागरिकको लाखौँ खर्च हुन्छ । हाम्रो नगर अस्पताल निर्माण हुँदै छ । त्यहीँबाट उत्कृष्ट सेवा दिने लक्ष्य छ । अहिले १४ वटै वडामा स्वास्थ्य कार्यालय बनिसकेका छन् । सबैमा अनलाइन सिस्टम छ ।
मनिटरिङ नगरबाटै हुन्छ । रोग लाग्नुभन्दा अघि नै सचेत गराउनका लागि बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि निःशुल्क शिविर सञ्चालन गरिरहेका छौँ । अर्को कुरा शिक्षालाई वैज्ञानिक बनाउने अभियान छ । हामीले करफोकमा कृषि इनोभेसन सेन्टर बनाएका छौँ । त्यहाँ अटो मेसिन जडान गरिएको छ । मोबाइलबाटै त्यहाँ पानी लगाउनेदेखि सबै काम हुन्छ । त्यो हेरेर पनि भविष्यमा केटाकेटीले केही सिक्न सकून् भन्ने हो । हामीले एआईमार्फत अटो मेसिनले गर्ने गरी कृषिको परिभाषा बदल्ने प्रयास गरिहेका छौँ ।