
यातायात मजदूर संघका अनुसार, आन्दोलनकारीहरूले मिति २०८१/११/०८ गते स्वास्थ्यकर्मी लिएर जाँदै गरेको मे १ ज २५७९ नम्बरको सवारी साधनलाई नियन्त्रणमा लिई तोडफोड गर्नुका साथै चालक राजकुमार पौडेललाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्।ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको खारेजी पक्षले गरेको आन्दोलन हिंसात्मक बनेपछि पाथीभरा यातायात सेवा प्रा.लि.ले यातायात बन्दको घोषणा गरेको छ।
यस घटनाको कडा भर्त्सना गर्दै, संघले यही फागुन ९ गते राति १२ बजेदेखि मेची राजमार्ग, तमोर करिडोर, धरान-बसन्तपुर-गुफा सडक हुँदै ताप्लेजुङ प्रवेश गर्ने सम्पूर्ण सडकहरूमा यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले नेपाल सरकारलाई २६०% सम्म भन्सार शुल्क बुझाएर तथा बैंक ऋणमा खरीद गरिएका सवारीसाधनहरूलाई तोडफोड गर्नु दु:खद भएको बताउँदै, यस घटनामा संलग्न दोषीहरूलाई कानूनी कारबाही गर्न माग गरेको छ।
साथै, घाइते चालकको स्वास्थ्य उपचार, सवारी साधन मर्मत र अन्य यातायात मजदूरहरूको सुरक्षाको प्रत्याभूति गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
बन्द अवधिमा एम्बुलेन्स, दमकल, दूध तथा तरकारी बोक्ने गाडीहरूलाई भने छुट दिइएको छ।
अन्य सवारी साधन सञ्चालन भएमा हुन सक्ने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।