
कुकुरलाई रुखमा झुण्डाइएको भिडिओ बनाएर सामाजिक सन्जालमा राख्ने रोल्पाका दुई जना युवा पक्राउ परेका छन् । रोल्पाको लुंग्रि गाउँपालिका ७ हार्जङ क्वाछिवाङका २० वर्षीय सुन्दर परियार र १८ वर्षीय डम्बर पुन पक्राउ परेका हुन् ।
उनीहरुले हार्जङमा कुकुरलाई रुखमा झुण्डाएर भिडिओ बनाएर सामाजिक सन्जालमा राखेको आरोपमा पक्राउ गरिएको रोल्पा प्रहरीका सूचना अधिकारी रोहित कुमार शाहीले जनाएका छन् । उनले दुवै जनालाई पशुपंक्षी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जनाएका छन् ।
कानूनअनुसार यो कसुरमा ३ महिना जेल सजाय वा जरिवाना वा दुबै हुन सक्ने उल्लेख छ । पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार पशुलाई क्रूर व्यवहार गर्ने, यातना दिने वा अनावश्यक पीडा दिने कार्यमा संलग्न व्यक्तिलाई ३ महिनासम्म कैद वा रू ५,०००र सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
यदि हत्यामा संलग्न व्यक्ति नाबालक हो भने उसलाई ३ महिना जेल सजायको बदलामा सुधार गृहमा राखिन्छ । बालिगलाई जेल सजाय नै हुन्छ । जरिवानाको हकमा नाबालक हो भने अभिभावकले जरिवानाको रकम तिर्नुपर्छ ।