
झापाको मेचीनगरमा ट्रकको ठक्करबाट घाइते एक युवतीको मृत्यु भएको छ । जेठ १३ गते ट्रकको ठक्करबाट घाइते भएकी आकृति दनुवारको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो ।मेचीनगर १४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ५१५२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ ख ४७११ नम्बरको ट्रकले साइडबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १० का २९ वर्षीय राहुल गुप्तालाई केही नभए पनि मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति ५ की २२ वर्षीया आकृति गम्भीर घाइते भएकी थिइन् ।
ट्रकको ठक्करबाट उनको कम्मरमाथि पेलिएको थियो । घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज दिउँसो ४ः१० बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रक चालक बिर्तामोड नगरपालिका वडा नम्बर ३ बस्ने ३४ वर्षीय विजय लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जनाइएको छ ।