
इलामको सूर्यदय नगरपालिका अन्तर्गत हर्कटेबाट रोङ गाउँपालिकाको रम्भ्याङ सलकपुर हुँदै झापाको निन्दासम्म निर्माणाधीन सडक शीर्षक अनुसार निर्माण गर्नुपर्ने माग बढेको छ ।
प्रदेश सरकारले हर्कटेबाट सुरू गर्नुपर्ने सडक निन्दाबाट नापजाँच सुरू गरेपछि स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न तहका सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन् । सूर्यदय नगरपालिकाको सत्रौं नगरसभाले समेत मुख्य मन्त्री ग्रामीण सडक अन्तर्गत हर्कटेबाट सुरू भएको बजेट सोही अनुसार प्रयोग गर्नुपर्ने निर्णय गर्दै ध्यानाकर्षण गराइसकेको छ ।
यस सडकको मुख्य सुरुआत बिन्दु हर्कटे भएकाले कृषि उपजको निकास, उत्पादन र जनघनत्वलाई हेरेर पनि शीर्षक अनुसार नै काम अगाडि बढाउन नगरपालिकाको दाबी छ । तर, केही व्यक्तिहरूको स्वार्थ र शक्तिको दुरुपयोग गरी निन्दाबाट काम अघि बढाउने प्रयास भइरहेको भन्दै सूर्योदय नगरपालिका, रोङ-६ र सुनपा-६ का बासिन्दाले कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
सडक शीर्षक विपरीत गर्न लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी समेत परेको छ । एक जना जनप्रतिनिधिले भने, “काम शीर्षक अनुसार नै हुनुपर्छ, अन्यथा शक्तिको दुरुपयोग भएको ठहर्छ ।”
रोङ-६ का राजन आचार्यले पनि हर्कटेबाटै बाटो सुरू गर्नुपर्ने ऐतिहासिक पृष्ठभूमि, कृषि उपजको प्राथमिकता र बाटोको स्थायित्वलाई हेर्न जरुरी रहेको बताए । साथै उनले निन्दा-सलकपुर खण्ड दोहरिएको भन्दै योजना वैज्ञानिक र दीर्घकालीन रूपमा अघि बढाउन आग्रह गरे ।
यता, दस करोड बजेट सुनिश्चिता गर्दै बहुवर्षीय योजना अन्तर्गत यस सडकलाई अघि बढाउन रोङ-६ का वडाध्यक्ष सत्यम राई चौरासेले पहल गरिरहेका छन् भने सडक निर्माण प्रक्रिया पारदर्शी र शीर्षक अनुसार हुनुपर्ने सबैको भनाइ छ ।
अख्तियारमा परेका उजुरीका आधारमा सम्बन्धित निकायलाई उचित कारबाही गर्न र शीर्षक विपरीत काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्वलाई हदैसम्मको सजाय गर्न समेत माग गरिएको छ ।