
सहारा नेपालका कर्मचारीलाई अभद्र व्यवहार गर्ने विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
असार २८ गते मोरङको मिक्लाजुङस्थित मधुमल्ला सेवा केन्द्र अन्तरगतका कर्मचारी रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने विश्वकर्मालाई ऋण असुली तागेत ागर्न जाने क्रममा अपशब्द , गाली गलौज, हातपात, जुत्ताको माला समेत लगाई अभद्र व्यवहार गरिएको थियो ।
सो कार्यमा सम्लग्न चन्द्रलाल मगरकी पत्नी माया मगर, नैनप्रसाद लिम्बूकी छोरी दुर्गा माया लिम्बू उपर पक्राउ पूर्जी जारी भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले दिएको जानकारी अनुसार उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सादा पोशाकका प्रहरी परिचालन भएसंगै उनीहरु फरार रहेको बताइएको छ ।मंगलवार सहारा नेपाल केन्द्रीय कार्यालयले जिल्ला प्रशासन कार्यालय झापामा पनि ध्यानाकर्षण पत्र बुझाएको छ । सहारा नेपालका उप निर्देशन दिनेश निरौलासहित सञ्चालक समितिसहितका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सहारा नेपालको केन्द्रीय कार्यालय झापा बिर्तामोड २ स्थित चारपानेमा रहेको छ । संस्थाको सेवाकेन्द्रहरु झापामा धेरै रहेकाले त्यस्ता घटनाहरु हुन सक्ने भन्दै प्रजिअको ध्यानाकर्षण गराइएको हो ।
संस्थाले कोशी प्रदेशका ६ जिल्लामा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।