
सुनसरी र पाँचथरबाट चोरीका मोटरसाईकल,सामान सहित १७ जना पक्राउ परेका छन । पाँचथर प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका आठ जनालाई चोरीका मोटरसाइकल र तिनका पार्टपुर्जा सहित पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट नियमित मोटराइकल हराएका उजुरी पर्न थालेपछि प्रहरीले छिमेकी तेह्रथुमको आठराई गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा फिदिम १ मा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय वीरेन्द्र राना, इलाम फाकफोकथुम २ घर भई तेह्रथुमको आठराईमा दुग्ध डेरी सञ्चालन गर्दै आएका तारा बस्नेत, आठराई गाँउपालिका ४ तेह्रथुम बस्ने एकमान दियाली, पबिन इङनाम, वासुदेव तामाङ, सुरज पुर्वछाने मगर, शिवकुमार तामाङ र श्रीप्रसाद तामाङ छन् ।
उनीहरुको साथबाट चोरीका ७ थान मोटरसाइकल र तिनका पार्टपुर्जा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख डीएसपी हरि खतिवडाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबै युवक १९ देखि २८ वर्ष उमेर समूहका छन् ।
उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी इन्जिन, पार्टपुर्जा र नम्बरसमेत परिवर्तन गरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले चोरी गरेकामध्ये केही मोटरसाइकलको स्वरुप नै परिवर्तन गरेर बिक्री गरेको पाइएको छ । पक्राउ परेकामध्ये केही मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । केही भने अनुसन्धानको प्रकृयामा छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको पनि खतिवडाले जानकारी दिए ।यता सुनसरीको बराहक्षेत्र नगरपालिका ३ स्थितबाट मोटरसाईकल चोरीमा सम्लग्न तीन जनालाई चोरी गरेको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र १ का ३४ बर्षीय सजन श्रेष्ठ, धरान ४ का २८ बर्षीय विश्वराज राई र धरान १३ का २३ बर्षीय रतिस श्रेष्ठ रहेका छन ।
अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गत माघ ६ धरान ११ का सुरज तामाङको घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको प्रदेश १-०२-०४०प २८१८ नम्बरको मोटरसाईकलको नम्वर प्लेटलाई को ३८ प ८०६५ लेखि चलाई रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ। यसैबिच धरानमा प्रहरीले गाडीहरुमा प्रयोग हुने ब्याट्री चोरी गर्ने गिरोह र खरिद गर्ने कबाड सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ।
धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देउकुमार लिम्बूका अनुसार उनीहरुलाई आइतबार नै सुनसरी जिल्ला अदालतमा म्याद थप गर्न लगिएको छ। म्याद थप गरेर ल्याइसकेपछि मात्र उनीहरुको नाम सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।
धरान–५ देउरालीमा गाडीको ब्याट्री चोरी भएको जानकारी अस्थायी प्रहरीचौकीमा दिएपछि चोर पक्राउ परेलगत्तै थप अनुसन्धान गर्दा ठूलै गिरोह रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ । सीसीटीभी फुजेटबाट चोरी गर्दै गरेको देखिएपछि चोर पत्ता लागेको थियो।
चोरहरुले ट्याक्टर, टिपर, बस, ट्रक, टेम्पो, सफारीलगायतका सवारीसाधनहरुको ब्याट्री चोर्ने गरेको ती ब्याट्री सस्तोमा कबाडवालालाई बेच्ने गरेको रहस्य खुलेको प्रहरीले जनाएको छ।उनीहरुले चोरी गरेको ठूलो परिमाणको ब्याट्री पनि प्रहरीले बरामद गरेको छ । गाडीका ब्याट्री चोर पक्राउ परेको जानकारी पाएपछि थुप्रै पीडितहरु प्रहरीमा पुगेका थिए।