
झापा, फागुन १८ । प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने नगरपालिकाका रुपमा देशभर मै बदनाम भएको झापाको मेचीनगर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा महेन्द्र विश्वकर्मा आउने हुनु भएको छ । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहनु भएका उपसचिव विश्वकर्मालाई मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाउने निर्णय गरेको हो ।
पटक पटकका प्रमुख प्रशासकीय अधिकृतहरुसंग विवाद गरेर काम नै गर्न नदिने स्थानीय कर्मचारी र जनप्रतिनिधिहरुले पछिल्लो पटक राजकपुर चौलागाईलाई पनि काम गर्न नदिए पछि वहाँले सरुवा लिएर जानु भएको थियो । मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत आउनु र जानु सामान्य विषय भइसकेको छ त्यसैले नयाँ आउने विश्वकर्मा पनि कति समय टिक्लान भन्ने अडकल बाजी सुरु भएको छ ।
कार्यालयमा हाजिर नहुँदै कति दिन बस्न सक्लान भन्ने आँकलन शुरु हुनुले नगरको प्रशासनिक काम चुस्त दुरुस्त नहुने स्थानीयहरु बताउँछन । नगरपालिकाका जनप्रतिनिधिले यस अघिका प्रमुख प्रशासकीय अधिकृत चौलागाईलाई हाजिर हुन रोक लगाएका थिए । प्रमुख प्रशासकीय अधिकृत चम्लागाई विदामा गएर कार्यालय आउँदा नगरउपप्रमुख मिना उप्रेती सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुले हाजिरमा रोक लगाएका थिए ।
यस अघि कार्यापालिकालाई असहयोग गरेको भन्दै कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृत चम्लागाईबाट नगरको बजेट खर्च गर्ने अधिकार स्थगन गर्नेसम्मको निणर्य गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवहरूलाई स्थानीयमा खटाएको छ । कतिपय स्थानमा भने अवधि नै नपुगेका तथा कुनै विवाद नभई कामकाज गरी रहेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई समेत सरुवा गरिएको छ ।