इलामको रोङ गाउँपालिका ग्रामीण क्षेत्रका महिलालाई ‘बोल्ने कला’ सिकाउँदै छ । महिलाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले उनीहरूलाई अरूका अघि निर्धक्क भएर बोल्न सिकाउन थालिएको हो ।
श्रीयम मिडिया प्रालिको आयोजना तथा उक्त गाउँपालिकाको सहयोगमा वडानं १ स्थित शान्तिपुरमा सञ्चालित महिलाका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको हो । तीनदिने तालिममा महिलालाई उद्घोषण र नेतृत्व विकासको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको वडाध्यक्ष मनोहरि खड्काले जानकारी दिनु भयो ।
गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले महिलालाई घरको काममा मात्र नभई समाजको नेतृत्व गर्ने ठाउँसम्म पुर्यउन पालिकाले प्रयास गरिरहेको बताउनु भयो।
‘जबसम्म महिला घरभित्रै सीमित हुन्छन् तबसम्म समाजमा कुनै परिवर्तन आउँदैन’, उनले भने, ‘महिलाले आफ्ना लागि र समाजका लागि आवाज उठाउन उनीहरूमा बोलीको सीप, बोल्ने तत्परता र आत्मविश्वास विकास गर्न जरुरी भएकाले तालिम सञ्चालन गरिएको हो । महिलाले आरक्षण सिटको मात्र भर नपरी हामी पनि पुरुष सरह सबै क्षेत्रमा काम गर्न सक्षम छौँ भन्ने भावना जागृत गर्न तालिमले सघाउँछ ।’
कार्यपालिका सदस्य लक्ष्मी नेपालीले महिलालाई सामाजिक संघ–संस्थादेखि राजनीतिक नेतृत्व लिन सक्षम बनाउनु आवश्यक रहेको बताउनु भयो । ‘चुप लागेर बसिरहने हो भने हामी आफ्ना र गाउँ–समाजका समस्या बाहिर ल्याउन र समाधान गर्न सक्दैनौँ’, उनले भने, ‘महिला आफ्ना र समाजका समस्या समाधानका उपाय खोज्न तत्पर हुनुपर्छ, त्यसका लागि क्षमता विकास आवश्यक छ ।’
वडा सदस्य मनमाया राईले आफू पनि यस्तै तालिममा सहभागी भएपछि अरूका अघि बोल्न सक्ने भएको सुनाउनु भयो । अर्का वडा सदस्य रेशबहादुर राईले महिलाको क्षमता विकासले समाज परिवर्तनमा भूमिका निर्वाह गर्ने बताउनु भयो ।
तालिममा सहभागी ७८ वर्षीया रुक्मिणा न्यौपानले जीवनमा पहिलोपटक माइक छुन पाएकामा खुसी व्यक्त गर्नु भयो । ‘उहिले हाम्रा पालमा न तालिम न नेतृत्व’, उहाँले भन्नुभयो , ‘अहिले बुढी भएपनि पहिलोपटक माइक समात्न पाइयो, अब हामीले त के गरौँला र, नयाँ पुस्ताले भने यो अवसर सदुपयोग गर्नुपर्छ ।’
उनान्चास जनाको सहभागिता रहेको सो तालिममा नेपाल पत्रकार महासंघ इलाम शाखा सचिव भीम चापागाईं, सदस्य मनोज अधिकारी र झापाकी अग्रज पत्रकार भीमा शिवाकोटीले सहजीकरण गर्नुभएको थियो