दिक्तेल किराँत चोकमा सडक अवरुद्ध गरेको अभियोगमा पक्राउ परेका पूर्वसंस्कृतिमन्त्री गोपाल किरातीलगायतका १३ पहिचान पक्षधरहरु आइतबार साँझ छुटेका छन् ।
एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध पुर्याएको आरोपमा मंसिर २६ गते पूर्वसंस्कृतिमन्त्री किरातीलगायत पाँच जना र आइतबार बिहान पक्राउ परेका ८ जना छुटेका हुन् । उनीहरुमध्ये मंसिर २६ गते पक्राउ परेका पूर्वसंस्कृतिमन्त्री किरातीलगायत जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाईसीएल नगर इन्चार्ज विजय राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राईलाई र नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङलाई अभद्र व्यवहार मुद्दामा जनही एक हजार रुपैयाँका दरले धरौटीमा छाडिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।
अहिलेलाई एक हजारका दरले धरौटीमा छाडिएको छ,’ प्रजिअ सुनारले भने, ‘धरौटी लिएर छाड्नु भनेको मुद्दा किनारा लागिसकेको छैन भनेर बुझ्नु पर्ने हुन्छ ।’ उनीहरुबाहेक आइतबार बिहान पक्राउ परेका दिक्तेलको किरातचौकबाट पक्राउ परेका ८ जनालाई भने मुद्दा नै नचलाई छाडिएको प्रजिअ सुनारले बताए ।
प्रदेश १ पुनःनामांकन संघर्ष समिति खोटाङका संयोजक तथा नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सचिव युगसन किरात, प्रदेश १ पुनःनामांकन युवा संघर्ष समिति खोटाङका संयोजक तथा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष निर्मल राई, संघर्ष समितिका जिल्ला सदस्य तथा जनता समाजवादी पार्टीका जिल्ला सचिव सुनिल राई, संघर्ष समितिका जिल्ला सदस्य तथा नेकपा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य संगीता राई, संघर्ष समितिका जिल्ला सदस्य सोनामहाङ राई, संघर्ष समितिका जिल्ला सदस्यहरु मेलिना राई, उपार्जन राई, र लक्ष्मी राईलाई मुद्दा नचलाई आइतबार साँझ नै छुटेका हुन् ।