सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पद्वारा ठूलो परिमाणमा प्रतिबन्धित माछा बरामद गरेको छ ।भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको सो माछा शनिश्चरे बेस क्याम्पद्वारा बरामद गरिएको हो।बरामद भएको माछाहरूमा पमप्लेट रुपचन, पङ्गास र रहु प्रजातिका रहेको छन् ।अर्जुनधारा ६ स्थित बिहानी टोलमा बिहान ७ः३० बजे तीन वटा मोटरसाइकलमा भित्र्याइएको ५ सय केजीका तीन प्रजातिको प्रतिबन्धित माछा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।
को ९ प १६०८, मे ३ प ९७६१ र मे ४ प ९६४२ नम्बरको मोटरसाइकलमा भित्र्याइएको सडेगलेका माछा बरामद गरिएको बेस क्याम्प प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश श्रेष्ठले जानकारी दिए ।उनका अनुसार अवैधरुपमा भित्र्याइँदै गर्दा सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल छाडी चालक फरार भएका थिए ।
बरामद मोटरसाइकल मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको छ । यसैबीच, बरामद गरिएको माछा बेस क्याम्प परिसरमा नषट गरिएको छ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, खाद्य क्वारेन्टाइन काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहलगायतको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको हो ।