कन्डक्टरले चलाएको बसले हिजो साँझ झापाको कन्काईमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेका छन् । साँझ अन्दाजी ७ बजेको समयमा कन्काई २ स्थित पवित्रा पेट्रोल पम्पनजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक सुब्बा घाइते भएका थिए । तत्काल पहिचान नखुलेका घाइतेलाई बीएण्डसी हस्पिटल ल्याइएकोमा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
धरानबाट काँकडभिट्टातर्फ आउने क्रममा सो बसले दिउँसो ४ः३० बजे बेलबारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा बस चालक ईलाम माई नगरपालिका ८ का अन्दाजी वर्ष २२ का सागर थुलुङ राई सोही स्थानमा झरी घाइते पक्षसंग छलफल गर्न बसेका थिए ।
सोही स्थानबाट बसका कन्डक्टर शिवसताक्षी ६ का २७ वर्षीय पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटना गराउने सिटौला फरार रहेका छन् ।
बसका चालक राई र सहचालक विराटनगर २ का दिपेश दर्जीलाई भने इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।