
सूर्योदय नगरपालिका इलामले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो ।नगरपालिकाले अर्ग्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साह समेत गरिराखेको छ । ‘हामीले उत्पादन गरेको चियाले आफैं रोगको सिकार हुनुपर्यो भने विश्व बजारमा बिक्री गर्न सकिँदैन’, नगरप्रमुख रणबहादुर राईले भने, ‘हामी वीष खाँदैनौं, वीष बेच्दैनौं। विगत वर्षदेखि अर्ग्यानिक उत्पादन गर्ने भनेर अभियान चलाइए पनि तथ्यांकहरूले विषादीको प्रयोग देखाएकाले अब कडाइका साथ विषादी नियमन गर्छौं ।
नगरपालिकाले गत दुई आर्थिक वर्षमा विपन्न नागरिक सहायता कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका लागि सिफारिस गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी क्यान्सर रोगी देखिएका छन् । आव २०७९/०८० मा सिफारिस गरिएका ५७ जना बिरामीमध्ये सबैभन्दा बढी ४० जना क्यान्सर पीडित थिए भने मिर्गौलाका १० र मुटुका ७ बिरामी थिए ।
त्यसैगरी, गत आवमा यो तथ्यांक वृद्धि भएर कूल सिफारिस संख्या ८२ पुग्यो । सो तथ्यांकमा पनि क्यान्सरका सबैभन्दा बढी ५० बिरामी छन् । त्यसैगरी मिर्गौलाका २०, मुटुका ३ र टाउकोमा चोट भएका ३ जनाको स्वास्थ्य सेवाका लागि सिफारिस गरिएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विपुल अधिकारीले जानकारी दिए ।
चालु वर्षमा यो तथ्यांक अझ वृद्धि हुने अनुमान छ । यी त नगरपालिकामा स्वास्थ्य सेवा पाउन माग गर्दै पेश भएका निवेदनका आधारमा उपलब्ध तथ्यांक मात्र हो । यसबाहेक पालिकाको सम्पर्कमा नआएर उपचार गरिरहेका वा ज्यान गुमाएका क्यान्सर पीडित धेरै छन्
सबैमा क्यान्सर रोगको कारण चियाको विषादी मात्र नभएपनि अधिकांश कारण भने विषादी नै भएको हुनसक्ने सूर्योदय–८ का वडाध्यक्ष जङ्ग गुरुङले बताए ।
क्यान्सरकै कारण मैले गत वर्ष परिवारको एक सदस्य गुमाएँ । धेरै ठाउँ डाक्टरलाई देखाउँदा विषादीकै कारण रोग लागेको बताए’, उनले भने, ‘झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालदेखि राजधानीका थुप्रै अस्पतालका वरिष्ठ डाक्टरहरूले विषादीलाई कारण देखाए ।’
वडाध्यक्ष गुरुङले यसवर्ष आफ्नो वडालाई अर्ग्यानिक वडा घोषणा गर्नेगरी काम थालिएको बताए । ‘मैले आफन्त गुमाएँ । आज घर–घरमा क्यान्सर रोगी फेला परिरहेका छन् । यो दूर्दशा सबैले भोग्नुभन्दा बेलैमा सचेत हुनुपर्छ, उनले भने, ‘सूर्योदयका सबै वडामा भन्दा ८ नं वडामा बढी चिया खेती हुन्छ ।
सबैभन्दा बढी चिया उद्योग यहीँ छ । यहाँबाट अर्ग्यानिक वडा घोषणा शुरू गर्दैछौं ।’
पहिलो चरणमा किसान, चिया उद्योगी, व्यापारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, टोल विकास, बाली बीमा कम्पनीका प्रतिनिधिलगायतसँग बसेर वडाले छलफल चलाएको बताउँदै वडाध्यक्ष गुरुङले अब टोलटोलमा पुगेर किसानसँग सचेतनामुलक कार्यक्रम गरिने साथै उनीहरूलाई अर्ग्यानिक उत्पादन सम्बन्धी तालिम र अन्य कार्यक्रम सञ्चालन गरिने बताए ।
वीषले मानव स्वास्थ्यलाई मात्र नभएर हाम्रो विश्व परिचयमा पनि असर गर्छ । चिया पिउन लायक बनाउनुपर्छ । उत्पादन अर्ग्यानिक र गुणस्तरीय भएपछि किसानले राम्रो मूल्य पाउँछन्’, नगरप्रमुख राईले भने, ‘क्षणिक लाभ हेरेर स्वास्थ्यजस्तो संवेदनशील विषयमा वेवास्ता गर्नु हुँदैन ।’
सूर्योदयमा उत्पादन हुने सबै चिया विषादीयुक्त छन् भन्ने होइन । कतिपय चिया बगान अर्ग्यानिक पनि छन् । सूर्योदय–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती शुरू गरेको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ ।
नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो । तर, हाम्रो चिया प्राङ्गारिक भएकाले एक सयभन्दा बढी मूल्य पाएका छौं’, राईले भने ।
राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् । ‘चियामा लहलह मुना पलाउँछ, खाँदा स्वास्थ्यलाई हानि गर्दैन, बिक्री मूल्य पनि राम्रो पाइन्छ’, किसान मनबहादुर राईले भने, ‘गाईको मल एकपटक र गहुँतबाट बनाएको ‘रक्षिन’ वर्षमा दुईपटक लगाई दिनुपर्छ, अन्य गोडमेल र सिँचाइ पुग्यो भने विषादी हालेकोभन्दा राम्रो उत्पादन पनि हुन्छ ।’
यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, पूर्ण र तारा राईका परिवार बिहानसाँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन् । बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ चैत पहिलो साताबाट सुरु हुने मन बहादुरले बताए ।
उनका अनुसार, हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो । क्यान्सरले नागरिकको ज्यान लैजाने र उत्पादन गुणस्तरीय नहुँदा विश्व बजारमा निर्यात नहुने भएपछि नगरपालिकाले प्राङ्गारिक चिया उत्पादनको अभियान चलाइरहेको हो । ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ ।
पहिले भारतले यहाँको चिया किन्दा सीएफएल परीक्षण गर्थ्यो तर अब त्यसको अलावा फसाइ परीक्षण गर्दैछ’, नगरप्रमुख राईले भने, ‘यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन । यदि चिया प्राङ्गारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ । यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ ।’
‘चियाको टिपाइ सुधार गर्न भन्दै नगरपालिकाले गतवर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गर्यो । ‘टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सय ओटा चिया टिप्ने हाते मेसिन वितरण भएको छ ।
यो वितरण यस बर्ष पनि हुन्छ । चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एन्ड रिसर्चिङ सेन्टर’ सञ्चालनमा आइसकेको छ’, नगरप्रमुख राईले भने ।
नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ ।
२०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताइन् ।
उनले भनिन्, ‘गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिक उन्मुख अभियान चलाइरहेका छौं, उनले भनिन् ।
नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न नसक्दा आलेचना खेप्नु परिरहेको छ । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन ।
प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले भने ‘८० प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रु एक अनुदान दिँदा पनि करोडौं लगानी चाहिन्छ । स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन । प्रदेश र संघले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ ।’
नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ ६ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिका चियाको राजधानीका रूपमा पनि परिचित छ ।
देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुने गरेको बगान सञ्चालकहरूले बताएका छन्