पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा बिहीबार राति भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर अचानक आफैं ब्याक भई सडकबाट १ सय ५० मिटर तल खस्दा रिब्दीकोट गाउँपालिका–३, बस्ने ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते अवस्थामा अस्पतालमा ल्याइएका ढकाललाई चिकित्सकले जाँच गर्दा मृत घाषणा गरेका हुन् ।
दुर्घटनामा घोराही उपमहानगरपालिका–१२, दाङका ३२ वर्षीय यमराज पुन र रोल्पा त्रिवेणी गाउँपालिका–५, का ३५ वर्षीय हिमाल घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । घाइते दुवैको अवस्था गम्भीर रहेको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।
टिपर दुर्घटनामा तीन जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचार गर्न मिसन अस्पताल ल्याइएको थियो । दुर्घटनामा टिपर चालक घोराही उपमहानगरपालिका–१६, दारूका २६ वर्षीय अजय चौधरी सकुशल रहेको प्रहरीले जनाएको छ । टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।