
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो । पूरक परीक्षाको कार्यतालिका भने पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।
यसपटक एसईईमा समग्रमा ६१.८१ प्रतिशत परीक्षार्थी ‘ग्रेडेड’ भएका छन् । बोर्डले शुक्रबार साँझ प्रकाशित गरेको नतिजाअनुसार गत वर्षभन्दा यसपालि बढी विद्यार्थीले सफलता पाएका हुन् ।
बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७ छन् । ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना छन् ।
यसैगरी, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ छ । २०८१ को एसईई ७ चैतदेखि सञ्चालन भएको थियो ।