
देव बास्कोट । नेपाली समाजमा एउटा प्रचलित उखान छ— “कागले कान लग्यो” भन्दैमा आ कान नछामी कुद्नु हुँदैन। आजको समाज झन् शिक्षित हुँदै गएको छ, तर त्यससँगै जटिल पनि बन्दै गएको छ। यसको प्रत्यक्ष उदाहरण आजको नेपाली पत्रकारिता हो, जुन गम्भीर संकटको चरणमा पुगेको देखिन्छ।
समाजलाई आज भ्रम होइन—सत्य, तथ्य र निष्पक्ष समाचार चाहिएको छ। तर पछिल्लो समय पत्रकारिताको नाममा अफवाह, अड्कलबाजी र अपुष्ट सूचनाको व्यापार बढ्दै गएको छ। विशेषगरी सामाजिक सञ्जालमा फेसबुक मोनेटाइजेसन बाट लाखौँ कमाइने भ्रम फैलाइएको छ, जुन व्यवहारमा सम्भवजस्तै देखिँदैन। जस्तै—शेयर बजारमा लगानी गर्ने सबैले कमाउँदैनन्, व्यवसाय गर्ने सबै धनी हुँदैनन्।
दुःखद पक्ष के छ भने, राज्यको चौथो अङ्ग मानिने पत्रकारिता पेशामै पित पत्रकारिता मौलाउँदै गएको छ। सुनेको भरमा, तथ्य जाँच नगरी, भ्युज र लाइकको लोभमा गलत सूचना प्रवाह भइरहेका छन्। यसले समाजलाई भ्रमित बनाइरहेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ— यसको जवाफदेहिता कसले लिने ?
मनलाग्दी गर्ने छुट कसैलाई छैन। समाजलाई भाँड्ने, नकारात्मक प्रभाव पार्ने भ्रमित समाचार प्रकाशन वा प्रसारण गर्नु अपराध सरह हो। विडम्बना, यस्ता सूचनाहरू पत्रकार वा आफूलाई बौद्धिक ठान्ने व्यक्तिहरूबाटै चुहावट भइरहेको छ। नभएको कुरालाई “भयो” भन्ने, पछि फेरि “हैन” भन्ने प्रवृत्ति खतरनाक छ।
पत्रकारिताको धर्म समाजलाई सूचित गर्नु हो—नकारात्मक कुरालाई जरैदेखि निर्मूल गर्नु र सकारात्मक पक्षलाई प्रोत्साहन गर्नु हो। तर जबसम्म विषयगत दक्षता र गहिरो ज्ञान हुँदैन, तबसम्म हामी पढेलेखेका त हुन्छौँ, शिक्षित हुँदैनौँ। पत्रकारहरू सबै विषयमा कम्तीमा आधारभूत दक्षता राख्नैपर्छ, ताकि उनीहरूले सोधेका प्रश्नलाई समाजले “वेकार” वा “बोर” नठानोस्।
यदि कसैले दिएको अभिव्यक्तिले समाजमा नकारात्मक असर पार्छ भने, त्यसलाई जस्ताको तस्तै प्रसारण गर्नु पत्रकारिताको धर्म होइन। तर प्रतिस्पर्धा र भ्युजको होडमा सत्य–तथ्य जाँच नगरी समाचार प्रकाशन गर्ने प्रवृत्तिले आम जनमानसमा मिडियाप्रतिको विश्वास घट्दै गएको छ। यदि यही क्रम चलिरह्यो भने परिणाम अत्यन्तै भयावह हुन सक्छ।
राम्रो, सत्य र निष्पक्ष समाचार मानिस आफैं खोजेर पढ्छ। जबरजस्ती बिरामीलाई भातको माड कोच्याएजस्तो समाचार कोच्याउनु पर्दैन। पत्रकारहरू सधैं सन्तुलित, जिम्मेवार र नैतिक हुनुपर्छ। हल्ला र अफवाहका भरमा परिचालित हुनु हुँदैन, न त अभाव र दबाबमा बिक्नु नै।
सत्यको सधैं विजय हुन्छ, झुट लामो समय टिक्दैन। स्वतन्त्रताको नाममा आफू नै असुरक्षित हुने अवस्था कसैले चाहँदैन। पत्रकारहरू राजनीतिक दलप्रति अत्यधिक आस्थावान वा चाकडीबाज हुनु हुँदैन। धेरै चिनी हालिएको चिया तितो हुन्छ—यो सबैले बुझ्न जरुरी छ।
आज मिडियावाजीका नाममा मानिसको व्यक्तिगत
गोपनीयतामाथि आक्रमण भइरहेको छ। के पत्रकारिताको उद्देश्य अरूको जीवन बर्बाद गर्नु हो ? यदि यही क्रम जारी रह्यो भने यसको परिणाम गम्भीर हुनेछ।अब समय आएको छ—पत्रकारहरूले समाज र राष्ट्रलाई सही मार्गदर्शन दिनुपर्ने। मोबाइल, क्यामेरा वा पिन–माइक बोकेर हिँड्दैमा कोही पत्रकार हुँदैन। दक्षता, अनुभव र नैतिकता अनिवार्य छ। धेरै कुकुर भेला भएर मृग नमारिएजस्तै, आजको पत्रकारिता आपसी द्वन्द्वमा अल्झिएको देखिन्छ।
नयाँ पुस्ता दुई कदम अगाडि छ। ठग्ने, छल्ने र सत्य लुकाउने पत्रकारितालाई समाजले अब स्वीकार्दैन। विश्वास कामबाट जित्न सकिएन भने पत्रकार र नेताहरू दुवैले विश्वास गुमाउनेछन्।
अन्ततः पत्रकारिताको धर्म सधैं सत्य र तथ्यमा केन्द्रित हुनु हो। अड्कलबाजी पित पत्रकारिता हो। अब ढिला नगरी सत्मार्ग रोज्ने, जिम्मेवार पत्रकारिता गर्ने र समाजको विश्वास पुनः जित्ने बेला आएको छ।







