
भारतको दिल्ली प्रहरीले नेपालीलाई ठगी गर्ने गिरोहका दुई सदस्यलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट दिल्ली प्रहरीले १३ थान नेपाली पासपोर्ट बरामद गरेको छ ।
विशेष अपरेसनको क्रममा प्रमुख आरोपी जयकाब र रूपेशलाई पक्राउ गरिएको छ । उनीहरूबाट १३ नेपालीको पासपोर्ट र डिजिटल प्रमाणहरू बरामद गरिएको छ,” दिल्ली क्राइम ब्रान्चका डीसीपी विक्रम सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका दुवै भारतीय नागरिक हुन् ।
दिल्ली प्रहरीका अनुसार, गिरोहले १९ जना नेपालीबाट एक करोड १२ लाख रुपैयाँ (भारतीय रुपैयाँ ७० लाख) ठगी गरेका थिए ।
यही भदौ ६ गते २२ वर्षीया नेपाली युवती सुजा खड्काले दिल्ली अपराध शाखामा लिखित उजुरी दिएपछि दिल्ली प्रहरीले अनुसन्धान अघि बढाएको थियो । खड्का दिल्लीको पहाडगञ्जस्थित गिल गर्ग होटेलमा बस्दै आएकी थिइन् ।
दिल्ली प्रहरीका अनुसार, खड्कासहित १९ नेपालीलाई जैकाबले २०२४ को अप्रिलमा दिल्लीको सीलमपुरमा भेटेका थिए । भेटमा जैकाले नेपालीहरूलाई विदेशमा जागिर लगाइदिने आश्वासन दिएका थिए ।
उनले नक्कली सर्बियाली भिसा र वर्क परमिट देखाएर नेपालीहरूको विश्वास जितेका थिए र १९ जनाको नेपाली पासपोर्ट आफूसँगै लगेका थिए,” दिल्ली प्रहरीले जनाएको छ ।
सन् २०२४ मेमा आरोपीले प्रत्येक नेपालीसँग तीन हजार ५०० युरो मागेका थिए । उक्त रकम उनले क्यूआर कोडमार्फत आफ्नै बैंक खातामा राख्न लगाएका थिए ।
जुलाई २०२५ मा जब सबै पीडितहरू रेलबाट दिल्ली पुगे, आरोपीहरूले बहाना बनाउन थाले र अन्ततः राहदानी र पैसा फिर्ता गर्न अस्वीकार गरे,” दिल्ली प्रहरीले जनाएको छ, “जब उनीहरूले विरोध गरे, आरोपीहरूले उनीहरूलाई कुट्ने धम्की पनि दिए । पछि, अनुसन्धानको क्रममा देखाइएका सबै भिसाहरू पूर्ण रूपमा नक्कली भएको पत्ता लाग्यो ।”
दिल्ली प्रहरीले ठगी गिरोहका सदस्य जयकाबलाई नोयडाबाट र रुपेशलाई दिल्लीबाट पक्राउ गरेको थियो । जयकाबको साथबाट १३ थान नेपाली पासपोर्ट बरामद गरिएको थियो ।
सोधपुछको क्रममा जयकाबले आफ्ना साथीहरू सग्ची, जोन उर्फ बिजोज र रूपेशको नाम खुलाएका थिए । त्यसपछि दिल्लीको छावलाको छावलास्थित स्ट्रीट नम्बर १, तर्शुल कालोनी, डी–९९ निवासी रूपेशलाई पक्राउ गरिएको थियो । अन्य आरोपितको खोजी कार्य जारी रहेको दिल्ली प्रहरीले जनाएको छ ।
दिल्ली प्रहरीका अनुसार, आरोपितहरूले नेपाली युवाहरूलाई विदेशमा जागिर दिने आश्वासन दिएर लोभ्याउने गर्थे । उनीहरूले नक्कली भिसा र वर्क परमिट देखाएर विश्वास जित्ने काम गर्थे । “उनीहरूले डिजिटल वालेटमार्फत ठूलो रकम उठाउँथे र पासपोर्टहरू आफैँसँग राख्थे । पैसा पाएपछि उनीहरू बेपत्ता हुन्थे,” दिल्ली प्रहरीले जनाएको छ ।
सोधपुछका क्रममा नेपालबाट कुल ६० लाख भारतीय रुपैयाँ ल्याइएको खुलेको थियो । उक्त रकम आरोपी जयकाबलाई नेपालका राजारामबाट पुगेको दिल्ली प्रहरीले बताएको छ । नेपाली नागरिक आशिष पाण्डेले नेपालबाट बैंक खाताहरू मिलाइदिएको भनाई दिल्ली प्रहरीको छ ।
विदेशमा रोजगारी प्रदान गर्ने दाबी गर्ने नक्कली र्याकेटहरूबाट सावधान रहनुहोस् । अपराध शाखा यस्ता संगठित गिरोहलाई पक्राउ गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन पूर्ण रूपमा प्रतिबद्ध छ,” दिल्ली प्रहरीले भनेको छ । स्रोत १२ खरी।