
मोरङको पथरी शनिश्चरेनगरपालिका–४ मा रहेको महारानी ट्युसन सेन्टरका ३१ जना अनाथ, विपन्न तथा आर्थिक रूपमा अति नै कमजोर अवस्थामा रहेका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।
जाडो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा तथा अध्ययनमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग कार्यक्रम आयोजना गरिएको हो।
सहयोगी मनहरू नेपालको आयोजनामा तथा नासिर आउटसोर्सिङ कञ्चल टेन्सी प्रालिको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रममा महारानी ट्युसन सेन्टर, न्यु बराल फेन्सी स्टोर दमक तथा पाथिभरा ट्रेडर्स गौतम स्टोरको विशेष सहयोग रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राई रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सहयोगी मनहरू नेपालका अध्यक्ष भीमप्रसाद आचार्यले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले समाजका अनाथ तथा आर्थिक रूपमा कमजोर बालबालिकाहरूको शिक्षामा सबैको साझा दायित्व रहने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यस्ता विद्यार्थीहरूलाई समयमै गरिएको सानो सहयोगले पनि उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। सामाजिक संघसंस्थाहरूको यस्तो प्रयास प्रशंसनीय छ।”
त्यसैगरी आयोजक संस्थाका अध्यक्ष भीमप्रसाद आचार्यले सहयोगी मनहरू नेपालले निरन्तर रूपमा शिक्षा र मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको पढाइ नरोकिन् भन्ने हाम्रो उद्देश्य हो। आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिनेछौं।”
उक्त अवसरमा सामग्री वितरणमा विशेष योगदान पुर्याएका वीरेन्द्रकुमार राउत तथा उनकी धर्मपत्नी विष्णुमाया राउतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोक किरण न्यौपाने, वडा सदस्य मीना विश्वकर्मा, महारानी ट्युसन सेन्टरका सम्पूर्ण पदाधिकारीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सहयोगदाताप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।






