
बुद्धशान्ति उद्योग बाणिज्य संघको तेस्रो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । बुद्धशान्ति–३ स्थित रामजानकी मन्दिरको सभाहलमा भएको कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष गोविन्द पौड्यालले स्वागत मन्तब्य राख्दै कोरोना कहरले लडाएको ब्यवसायीलाई विभिन्न वित्तिय संस्थाले बढाएको ब्याजदरले झन् मर्कामा पारेको बताए । उनले अव्यवस्थित बजारलाई ब्यवस्थित बनाउन, ब्यापारीको गुनासो र समस्याका बारे स्थानीय–तहले सुनुवाई गरिदिन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले जनप्रतिनीधि भएको ९ महिनाको दौरानमा बजार ब्यवस्थापनका लागि सिसी क्यामरा जडान, अब्यवस्थित संरचनाको सुधार, फोहोर मैला ब्यवस्थापन तथा बजार भित्रका सडक मर्मत लगायतको काम गरेको भन्दै उनले आगामी दिनमा बजार ब्यवस्थित गर्न ब्यवसायीहरुलका लागि ब्यापारिक स्टल र पार्किङको ब्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले ब्यवसायीहरुको गुनासो र समस्याका बारेमा पालिकाले सुनुवाई गर्ने पनि बताए । बुद्धशान्ति उद्योग बाणिज्य संघको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष चन्द्रप्रसाद उप्रेतीले प्रस्तुत गरेका थिए ।
बाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद उप्रेतीको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता तथा संस्थाका पूर्व अध्यक्ष रुद्रप्रसाद चाँपागाई, वेणु सग्रौला र गोविन्द पौड्यालको विशेष आथित्य रहेको कार्यक्रममा विर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, अर्जनधारा उद्योग बाणिज्य संघका सचिव गोपाल घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्ले, साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ध्रुव ओली, माओवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्बाङ, राम जानकी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भगवती शर्मा न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य धनकला अधिकारीले गरेकी थिइन् ।