
विराटनगरको सेन्टमेरिज बोर्डिङ स्कुलको बसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा सेन्टमेरिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट खोटाङ घर भइ बूढीगंगा–१ मा बस्दै आएका प्रदीप परियारका १२ वर्षीय छोरा सन्देशको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई दिउँसो ४ बजेतिर ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।
चिकित्सकले दिउँसो ४ः४० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । स्कुल बस र चालक विराटनगर महानगरपालिका–४ बस्ने ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।
प्रहरीका अनुसार भानु स्कुलको बस भाडामा लिएर सेन्टमेरिजले विद्यार्थी ल्याउन र पुर्याउन प्रयोग गर्दै आएको थियो । विद्यार्थीलाई पुर्याउने क्रममा दुर्घटना भएकाे थियाे ।