
रोङ – शहर बजार केन्द्रीत हुने रक्तदान कार्यक्रम पहाडी तथा ग्रामीण भेगमा खासै आयोजना भएको पाईदैन् । रक्तदाताको अभाव र भौगोलिक विकटता त्यसको मुख्य कारण बनेको छ । रगत दान गर्दा शरिरलाई कुनैपनि किसिमको बेफाइदा हुँदैन् भन्ने ज्ञानको अभाव दुरदराजमा अहिले पनि भेटीन्छ ।
तर आज इलामको रोङ गाउँपालिकाको ग्रामिण भेगमा आयोजना भएको एक रक्तदान कार्यक्रममा भने रगत दान गर्नेहरुको उल्लेख्य उपस्तिथि रहेको थियो । सबैभन्दा खास कुरा चै विवाहकै दिन दुई जना बेहुला एकैसाथ रक्तदान गर्न सहभागि भएपछि कार्यक्रमको परिवेश नै फेरीएको थियो ।
पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर १ पिरुवाका धनकुमार बेघा बेहुली लिन भनेर इलामको रोङ गाउँपालिकको २ नम्बर वडा स्थित बदमटार आइपुगेका थिए । ससुराली घरबाट नजिकै रक्तदान भईरहेको थाहाँ पाएपछि उनी बिहे कर्म चल्दा–चल्दै थोरै समय निकालेर कार्यक्रम स्थलमा आईपुगे । रोङ–२ स्थित शशि मा.वी.मा चलिरहेको रक्तदान कार्यक्रममा उनी मात्रै आएन्न उनीसंगै एकै लगनमा विवाह बन्धनमा बाधिएका बिरकुमार राई पनि रक्तदानमा सहभागि हुन् आइपुगे ।
धनकुमार र बिरकुमार दुवै जना एकैघरका जुवाई हुन् । उनिहरुले एकै घरका दिदि–बहिनी आज एकैचोटी, एकै लगनमा विवाह गर्दै थिए । आफ्नै सामाजिक रिती अनुसार विवाह बन्धनमा बाधिएका बिरकुमार साईनोमा धनकुमारका साडुदाई पर्ने रहेछन् । पाँचथरका बिरकुमार र इलामकै धनकुमार बेहुला बनेर बसेकै अवस्थामा रक्तदान गर्न आएपछि कार्यक्रमको रौनक बढेको थियो ।
उनिहरुलाई कार्यक्रममा सबैले विवाहको शुभकामना सहित धन्यवाद ज्ञापन गरेका थियो । रक्तदानपछि सृजना सामुदायीक वनले दुबै बेहुलालाई बिरुवा हस्तनान्तरण गरेको थियो ।
रक्तदानलाई नेपाल रेडक्रस सोसाईटी हाँसपोखरी उपशाखा इलामले आयोजना गरेको थियो । सृजना सामुदायीक वन उपभोक्ता समितिको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ३० जना पुरुष र ५ जना महिला गरि जम्मा ३५ जनाले रक्तदान गरेका थिए ।
रक्तदानमा सहभागि सम्पूर्ण दाताहरुलाई समुदायीक वनको तर्फबाट कागती, अम्ब लगायतका जातको बिरुवा बितरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी हाँसपोखरी उपशाखाका अध्यक्ष नेत्रप्रसाद पोखरेलको अध्यक्षता र रोङ–२ का वडाअध्यक्ष चन्द्रशेखर घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सृजना सामुदायीक वनका अध्यक्ष खुम्बा तामाङ, उपाध्यक्ष प्रिती प्रधान, सचिव सन्तबहादुर तामाङ, कोषध्यक्ष दलमाया राई, रेडक्रस इलाम जिल्ला सदस्य श्याम कार्की, रोङ सचिव गणेश अर्याल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु लगायतको उपस्तिथि थियो ।
रक्तदान कार्यक्रममा रेडक्रस दमकका रक्तसंचार प्रमुख सिदार्थ दाहाल नेतृत्वको ५ जनाको टोलिले प्राविधिक सेवा प्रदान गरेको थियो ।