बुद्धशान्ति गाउँपालिका वडा नम्वर १ ले आफ्ना वडामा विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत ‘क्लोज क्याम्प’ कार्यक्रमको सुभारम्भ गरेको छ । मंगलबार उक्त कार्यक्रम बुद्धशान्तिको किनारावस्तीबाट सुभारम्भ गरिएको हो ।
वडाको आर्थिक सहयोग तथा पहिलो चरणमा वडाको नमूना आधारभूत विद्यालयको आयोजनामा सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नका लागि टोल टोलमा गएर अंग्रेजी, गणित र विज्ञान विषय पढाउन सुरु गरिएको हो ।
पहिलो चरणमा नौ वटा टोलमा ९ जना दक्ष शिक्षकको व्यबस्था गरिएको वडा अध्यक्ष अनिल वाग्लले बताउनु भयो । उनले आर्थिक अवस्था कमजोर भएका अभिभावकका लागि यो कार्यक्रम प्रभावकारी रहने बताएका छन् । उनले उक्त कार्यक्रमलाई भरपुर सदुपयोग गर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका छन् ।
वडाका तीनवटै विद्यालयलाई वडाले वजेट बिनियोजन गरेको छ । क्याम्प दुुई महिना सञ्चालन हुने बताइएको छ ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार घतानीले वडाले शिक्षामा गरेको लगानी सह्रानीय भएको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नु भएको थियो ।
उनले राज्यको लगानी यसरी सही ठाउँमा सदुपयोग भएकाले अभिभावकले आफ्ना छोराछोरीलाई उक्त कक्षामा नियमित गराउन समेत आग्रह गर्नु भएको थियो ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष घतानीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडासदस्य लक्ष्मी कडेल, मोहन कुमार राई, शिक्षक अभिभावकसंघका अध्यक्ष लेखनाथ खतिवडा, सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाल, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गायत्रा ढुंगेलले गर्नु भएको थियो ।