झापाको बुद्धशान्ति २ स्थित
Ambition Academy विगत वर्ष झै यश वर्ष पनि माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको प्रमुख आतिथ्यता तथा इन्द्र राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन छात्रा सोफिया खड्काले गरेकी थिइन् भने छात्रा रियन राईले अतिथिहरुलाई शाब्दिक स्वागत गरेकी थिइन्। कार्यक्रममा सरस्वती पूजाको महत्व दर्साउने विविध कार्यक्रमका साथै विद्यार्थीहरुले विभिन्न विधाका नृत्यहरू प्रस्तुत गरेका थिए।
स्थानीय समाजसेवी गुरु ओली, गंगा गौतम, सेमन्त पोखरेल, मुकेश भट्टराई,पूर्ण गौली, इन्द्र अधिकारी, अभिभावकहरु लगायत शैक्षिक तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी तथा आफूले बनाएका विभिन्न परियोजना कार्यको प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।
एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठर दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो। यसै समयदेखि वसन्तराग गाउन थालियो।
सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ।
सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ। यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ। यसपछि सरस्वती कवच पाठ गरिन्छ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।
आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।
विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्। उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्दछ।