झापाको बुद्धशान्ति २ स्थित एम्बिसन एकेडेमीले दीक्षान्त, सेवा निवृत्त गुरु गुरुआमा सम्मान तथा छात्रवृत्ति घोषणा कार्यक्रम समापन गरेको छ। एकेडेमीले पूर्व प्राथमिक तह अध्ययन पूरा गरेका ३३ विद्यार्थीलाई दीक्षान्त गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वशिक्षक डम्बर कुमार प्रधान रहेका थिए ।
त्यस्तै विशेष अतिथिका रूपमा सेवा निवृत्त शिक्षक खगेन्द्र पोखरेल, देविध्वज योन्जन, मेदनी प्रसाद सिटौला, कालीबहादुर थापा, पुण्य कुमारी दाहाल, डम्बर कुमार बजगाई, कृष्णप्रसाद फुयल, पर्शुराम प्रधान, वेद कुमार श्रेष्ठ लगायत विन्दा ओली उप्रेती, लक्ष्मी उप्रेती, अभिभावक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीको आतिथ्य रहेको थियो ।
विद्यार्थी लोगान उप्रेतिले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेको कार्यक्रममा औचित्य माथि प्रकाश भने प्रवन्ध निर्देशक दिपेन सिटौला राख्नु भएको थियो ।
यता पूर्व प्राथमिक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको दीक्षान्त समारोह अभिभावकको उपस्थितिमा सम्पन्न गरिएको थियो भने विभिन्न समयमा अध्यापन गराउनुहुने सेवानिवृत्त गुरु गुरुआमाहरुलाई सम्मान कार्यक्रम समेत राखीएको थियो ।
विद्यालयले आँफै छात्रवृत्ति कोष खडा गरी आदर्श मा. वि. जयपुरका पूर्व प्रधानाध्यापक समेत रहनुभएका स्व. शिक्षक रामप्रसाद ओली स्मृति छात्रवृत्तिको घोषणा समेत गरेको छ ।
उक्त छात्रवृत्तिका लागि बुद्धशान्तिका जुनसुकै विद्यालयबाट कक्षा ८ पास गरेका विद्यार्थीले निवेदन दिन सक्नेछन् । उक्त निवेदनको २०८१ वैशाख २ गतेसम्म बुझाइसक्न र परीक्षा भने २०८१ वैशाख ४ गते रहने विद्यालयले जनाएको छ । छात्रावृत्तिमा छनौट भएपछि एम्बिसन एकेडेमीमा कक्षा ९ र १० मा अध्ययन गर्न एक छात्र र एक छात्रा गरि जम्मा ४ जनाले रु २,५०,००० रकम बराबरको १००% छात्रवृत्ति प्रदान गरिने समेत विद्यालयले जनाएको छ ।
विद्यार्थी सुरक्षा तामाङ र अदिति शिवाकोटीले सञ्चालन गरेको कार्यक्रमको बीचबीचमा विद्यार्थीबाट गायन तथा नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति तारा सिटौलाले गर्नुभएको थियो ।