
इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा काम गर्ने कोशी प्रदेशकै सर्वाेत्कृष्ट पालिका घोषित भएको छ ।
देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपालले सूर्याेदयलाई कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा पुरस्कृत गर्न लागेको हो ।
एसोसिएसनले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिले कोशी प्रदेशमा सूर्याेदयलाई छानेको जनाएको छ । जेठ २६, २७ र २८ मा काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गर्न लागिएको एसोसिएसन अध्यक्ष सुदाम गौतमले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्नेछन् ।
गौतमका अनुसार देशका सातै स्थानीय तहका एक–एक स्थानीय तह, एक–एक प्रधानाध्यापक र एक–एक विद्यालयलाई वर्षको उत्कृष्ट घोषित गरी पुरस्कृत गर्न लागिएको हो । पालिकालाई शिक्षामा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम÷सूचना तथा प्रविधि र शिक्षामा सुशासन अभ्यास मापदण्डका आधारमा छनोट गरिएको सभापति गौतमले जानकारी दिए ।
कोशीमा इलामको सूर्याेदय, मधेसमा बाराको कौहलवी, वाग्मतीमा काठमाडौं महानगर, गण्डकीमा नवलपरासीपूर्वको मध्यविन्दू नगरपालिका, लुम्बिनीमा बर्दियाको ठाकुरबाबा नगरपालिका, कर्णालीमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सुदूरपश्चिममा धनगढी उपमहानगरलाई यो वर्ष शिक्षा क्षेत्रमा काम गर्ने प्रदेशका उत्कृष्ट पालिका छानिएको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.चित्रबहादुर बुढाथोकी संयोजकत्वको चार सदस्यीय छनोट समितिले विभिन्न मापदण्डका आधारमा पुरस्कृत पालिका, विद्यालय र प्रधानाध्यापक छनोट गरेको उनको भनाइ छ । छनोट समितिमा रामप्रसाद सुवेदी, धनञ्जय शर्मा र प्रकृति अधिकारी सदस्य छन् ।
सूर्याेदयले शिक्षा क्षेत्रमा विभिन्न महत्वपूूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालयको भौतिक पूर्वाधार विकासदेखि शिक्षकको दक्षता अभिवृद्धि, प्रोत्साहन र विद्यालयमा विद्यार्थी आकर्षित गर्ने दर्जनौं योजना सूर्याेदयले कार्यान्वयन गरेको छ ।
मेयर रणबहादुर राईले नगरले शिक्षा क्षेत्रमा दीर्घकालीन उपलिब्ध हासिल गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । ‘यो नगर बालमैत्री नगर पनि भएकाले विद्यालय तहको शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘बालबालिकाका लागिमात्र होइन, नगरका छोरी र बुहारीको उच्च शिक्षासमेतमा हामीले विशेष ध्यान दिएका छौं ।’