November 20, 2024

अन्य

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले आज एक कार्यक्रमको आयोजना गरेर अर्जुनधारा साधुटारमा अवस्थित संस्कृत विद्यापीठका बटुक/ विद्यार्थीहरूलाई एक दिनको खाना खर्च तथा पठनपाठनका सामग्रीहरू साथै प्रत्येक विद्यार्थीहरूलाई आर्थिक सहयोग गरेको छ । बर्खा खड्का प्रसाईंको दोस्रो स्मृति दिवसको अवसर पारेर उक्त सहयोग साथै पठनपाठन सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष मदन प्रसाईंले बताउनु भयो ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ।प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । 

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।

तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । 

मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गुजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए । 

कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । 

यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ।

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । 

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ। 

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । 

यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित श्री लक्ष्मीनारायण मन्दिरको ६५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।श्री लक्ष्मीनारायण मन्दिका अध्यक्ष नारदमणि चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यतामा २४ गते शनिबार ६५  अौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

श्री लक्ष्मीनारायण मन्दिरका महन्त स्वामी खगेन्द्र दुलालले उपस्थित सम्पूर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रममा
संस्थाका आजिवन सदस्यहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले समाजमा धार्मिक सहिष्णुता कायम गर्दै धार्मिक धामको सुदृढ व्यवस्थापन होस, एवं साँस्कृतिक प्रचार प्रसार  होस भन्ने उद्धेश्यले स्थानीय क्षेत्रको धार्मिक संरचना हरूको  बिकासको लागि  स्थानीय सरकारले गर्नु पर्ने सहयोग गर्दै जाने बताउनु भयो  ।

उहाले ,भन्नू ,भयो,स्थानीय क्षेत्रको धार्मिक संरचना हरूको विसयमा कोहि कैसैले फैलाएको भर्ममा नपर्न पनि आगर्हगर्नु भयो ।
कार्यक्रममा  वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले,स्थानिय समाज सेवी प्रजापति कोईराला कमलेश्वर महादेव मन्दिरका अध्यक्ष पुष्प भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष नारदमणी चापाँगाईले २६
औं वार्षिक साधारण सभाको बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै  संस्थामा रहेको काम गर्दै गर्दा निकै समस्याहरू आएता पनि हामिले यो संस्थालाई कछुवाको गतिमा अगाडि लैजादै गरेको बताउनु भयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,संस्थाका सम्पुर्ण कर्मचारी सेयर सदस्य संचारकर्मी लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन संस्थाकी सचिव दुर्गा देवि खतिवडाले गर्नुभएको थियो ।

आदर्श यूवा क्लब बुद्धशान्तिद्धारा आयोजना भइरहेको हाउजी खेलमा आज अन्तिम दिन विशेष पुरस्कार अन्तर्गत हाउसफुल बिजेतालाई बुलेट बाइक पुरस्कार दिइने भएको छ ।

क्लबका उपाध्यक्ष तथा हाउजी खेल संयोजक दिपक शुब्बा थेबेका अनुसार हाउजी खेलको समापन संगै अन्तिम दिन उक्त पुरस्कार राखिएको बताउनु भयो ।

क्लबद्धारा ३ दशक अघि देखि प्रत्येक वर्ष दशैंको घटस्थापनादेखि छठ पर्वसम्म हाउजी खेल संचालन गर्दै आएको छ । हाउजी खेल चाडवाडको बेलामा मनोरञ्जनको साथ साथै साथीभाइ भेटघाट गर्ने थलो समेत बनेको छ ।

प्रत्येक साँझ ७ बजेबाट सुरु हुने खेलमा झापाको बुद्धशान्ति, मेचिनगर, विर्तामोड, अर्जुुनधारा, इलामको रोङ तथा अन्य जिल्लाबाट समेत हजार बढी हाउजी खेलप्रेमीहरुको सहभागीता रहने गरेको र भोलि हुने अन्तिम दिनको खेलको टिकट बिक्रि दिउसो ३ बजे देखि हुने र खेल सुरु बेलुका ७:३० बाट हुने क्लबका सचिव दुर्योधन सिंह राजपुत देवले बताउनु भयो ।

झापाको बुद्धशान्ति स्थित हँडिया खोलाको किनारमा विगत वर्षझै मनाउदै  आएको छठ पूजाको यो वर्षको तयारी पूरा भएको छ ।छठ पूजा व्यवस्थापन गर्दै पूजास्थल सम्याउने, खोलाको पानीलाई बाटो वनाएर एकसाइट बनाई बाँसको अस्थायी स्टल बनाउने, विद्युत जडान गर्ने लगायतका काम सकिएको छठ पुजा सेवा समिती बुद्धशान्ति अध्यक्ष व्यास प्रसाद शाहले जानकारी दिनु भयो ।
त्यस्तै, करिब ३५० जना क्षमताको स्टल निर्माणको काम पनि पूरा भएको बताईएको छ ।

बुधबारेको हडिया खोलामा हुने छठ पूजामा ५००० भन्दा बढी श्रदालु भक्तजनहरूको उपस्थिति रहने अनुमान गरिएको छ । छठ पूजाका साथै बृहत सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सबैको साथ सहयोग हुँदै गरेको बताईएको छ ।

पूजा अवधिमा सुरक्षा व्यवस्थापनका बुधबारे इलाका प्रहरी कार्यलय टिमाइ  सशत्र टिमाई बेस क्याम लाई समेत पत्रचार गरिएको समितिका सचिब तार्केश्वर गुप्तले बताउनु भयो ।

त्यस्तै, पूजाका लागि बुद्धशान्ति गाउँपालिका साथै वडा १ र वडा नं ३ को वडाकार्यलयको पनि सहयोग रहेको समितिका उपाध्यक्ष  दुर्योधन देवले बताउनु भयो ।

 मंगलबार बाट चार दिनसम्म मनाईने छठ पर्वमा अनुमानित करिब एकलाख पचास हजार रूपयाँ खर्चहुने बताईएको छ ।

 पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

झापाको बुद्धशान्ति-६ स्थित ठुटेबर परिसरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला कार्तिक २४ गते देखि ३० गते सम्म लाग्ने भएको छ ।स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न बर्षको दुई पटक बैशाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको भएकाले यश वर्षपनि  मेला लगाउने तयारि भएको समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाले बताउनु भयो । परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो ।

यश भुमीको बारेमा अघिल्लो पुर्खाले सिकाएको र भावि सन्ततीका लागि पनि जोगाएर राख्न आवश्यक रहेको उहाँको भनाई छ ।

कुनैबेला पर्यटकहरूको प्रमुख रोजाईमा पर्ने गरेको भएपनि पछिल्लो समय पर्यटकहरुको कमी हुन थालेपछि पर्यटकको संख्या बढाउन महोत्सवको तयारी गरिएको बताईएको छ ।

इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बेग्लै हुदै जाने गरेको र मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेको स्थानिय शिक्षा सेवी केशव भट्टराइले बताउनु भयो ।

ठुटेवर मेलामा स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको आयोजक समितिका सदस्य निलमणि न्यौपानेले बताउनु भयो ।

तर आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको उहाँको भनाई छ ।

ठुटेवर मेलामा ,बिभिन्न साहित्यिक कार्यक्रम, अन्तर बिद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ ।

कोरोना कहरले गर्दा दुई वर्ष लाग्न नसकेको ठुटेवर मेला गत बर्षबाट फेरि लाग्न थालेको हो ।

२४ गते देखि ३० गते सम्म लाग्ने  मेलामा झापा, इलाम, लगायत छिमेकि मुलक भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने  वडा नं ६ का वडा अध्यक्ष शिवराज पौेडेलले वताउनु भयो, उहाँले भन्नू ,भयो यो एउटा हाम्रो साँस्कृतिक विश्व विद्यालय हो र यसको विकास विस्तार र प्रबर्धनमा स्थानिय सरकार लागि परेको बताउनु भयो ।

त्यहाँको सौन्दर्य र यहाँको पहिचान संरक्षण गर्न, बिभिन्न लोक साँस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने मेला आयोजक समितिका सचिव कृष्ण आचार्यले बताउनु भयो

सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विभिन्न कृषि सामाग्रीहरूको स्टल र स्थानिय र राष्ट्रिय स्तरका कलाकार साथै साहित्यकार गजलकार हरूको समेत प्रस्तुति रहने आयोजकले समितिले जानकारि दिनु भयो ।

कात्तिक २४ गतेदेखि ३० गतेसम्म संचालन हुने मेला सम्पन्न  गर्न ६ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितीका सचिव कुष्ण अाचार्यले बताउनु भयो ।

नेपालीहरूको  दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मगंलबारदेखि विधिवत् रुपमा सुरु भएको छ । आज बुधबार काग तिहार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो खान दिइ खुसी पार्ने चलन छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यम यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

यस वर्ष तीथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । त्यस दिनदेखि गाउँघरमा देउँसी खेल्ने चलन रहेको बताइएको छ । नवलपुरमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै राति ९ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माद्वारा जारी सूचनामा जुवातास, लङ्गुरबुर्जा र कौडा सट्टेबाजीजस्ता कानुनी रूपमा निषेध गरिएका खेलहरू नगर्न आग्रह गरिएको छ ।

मदिरा सेवनगरी सार्वजनिक स्थानमा होहल्ला र झगडा नगर्न साथै, पटका, आतसबाजी र अन्य विस्फोटक पदार्थको ओसारपसार, बिक्री र प्रयोग नगर्न समेत अनुरोध गरिएको छ । सूचनामा उल्लिखित नियमहरू नमान्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने जनाइएको छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज  बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उनले भने।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउछन्। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए ।

आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

भाइटीका कात्तिक २९ गते १० :५१ बजे उत्तम
कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०ः५१  बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए  ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनिढ किजापूजा  कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ ।

बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ ।

नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।

नवरात्रको अन्तिम दिन आज महाअष्टमी र महानवमी मनाइँदै छ।तिथि घटबढका कारण आज अष्टमी र नवमी एकैदिन परेका हुन्। नवरात्रिको समाप्तीसँगै भोलि नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ।भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ।दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्।
दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ।बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्।यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ।शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ।टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ।मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ।

झापाको बुद्धशान्तिमा नेपाली काङ्ग्रेसका संस्थापक,प्रथम   जननिर्वाचित प्रधानमन्त्री ,नेपाली साहित्यिक क्षेत्रका एक महान ब्याक्तित्व महामानव वीपी कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँसमितिको आयोजनामा सम्पन्न बुद्धशान्ति गाउँपालिका अन्तर मावि ( कक्षा ११ र १२) स्तरीय ” वीपी कोइराला र समाजवाद ” शिर्षकको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कर्णाली एजुकेसन फाउन्डेसनकी छात्रा आकृति सिटौला प्रथम ,श्री बुद्ध आदर्श माविकी छात्रा सम्झना कालिकोटे द्वितीय स्थान र  श्री गडिगाउँ माविका छात्र रुपनारायण कोइराला तृतीय स्थान प्राप गर्न सफल हुनु भएको छ।

नेविसंघ बुद्धशान्तिका सभापति उमेश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्माको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेविसंघ झापाका सभापति संजय निरौला ,बुद्धशान्ति वडा न:४ का वडाध्यक्ष शेर बहादुर राय ,नेपाली काङ्ग्रेस बुद्धशान्ति उपसभापति मनेश दाहाल ,नेविसंघ झापाका सचिव गोकुल पौडेल ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सचीव द्वय मदन मगर र कृष्ण खतिवडा ,सीतारमेश बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष जय प्रसाद भण्डारी ,कर्णाली एजुकेसन फाउन्डेसनका संस्थापक निर्देशक छत्र बहादुर कार्की ,अग्रज शिक्षासेवी केदारप्रसाद कोइराला ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सहसचिव सुजित बराल,नेविसंघ झापा जिल्ला सदस्य राम भट्टराई ,नेविसंघ बुद्धशान्ति उपसभापति डेविड श्रेष्ठ ,नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँसमिति सदस्य याम प्रसाद लुइँटेल ,नेपाली काङ्ग्रेस बुद्धशान्ति -४ वडा सचीव दिपक शेर्मा,सीतारमेश बहुमुखी क्याम्पस नेविसंघ इकाई सभापति सन्तहाङ लिम्बु लगायत उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायकको रुपमा जयप्रसाद भण्डारी ,संजय निरौला र केदारप्रसाद कोइराला रहनु भएको थियो।

नेविसंघ बुद्धशान्ति सभापति तथा कार्यक्रमका सभापति उमेश भट्टराईले स्वागत सहित औचित्य माथी प्रकाश पारेको कार्यक्रममा प्रमुख निर्णायक जयप्रसाद भण्डारी ,विशिष्ट अतिथि नेविसंघ झापा सभापति संजय निरौला र प्रमुख अतिथि नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन नेविसंघ बुद्धशान्ति सचीव प्रकाश शेर्माले गर्नु भएको थियो।

वक्तृत्वकला प्रतियोगिताका प्रतिस्पर्धी विद्यार्थीलाई  आफ्ना विचार राख्न पाँच मिनेटको समय थियो।प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने विद्यार्थी लाई नगद रु:२५००/- र प्रमाणपत्र ,द्वितीय स्थान हासिल गर्ने विद्यार्थी लाई नगद रु:१५००/- र प्रमाणपत्र तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थी लाई नगद रु:१००० र प्रमाणपत्र को ब्यवस्थापन गरिएको थियो।