May 10, 2024

खेल

चर्च ब्याइजसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै आयोजक झापा ११ एफसी छैटौँ झापा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा आयोजक झापा ११ लाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्च ब्याइज फाइनलमा प्रवेश छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्याइज झापा गोल्डकपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो। झापा यसअघिका पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट टाढा रहँदै आएको छ। यो पटक सेमिबाटै बाहिरिँदा समर्थक मैदानमा निराश देखिए। उपाधिका लागि फागुन २८ गते हुने फाइनलमा चर्च ब्याइज विभागीय टोली सशस्त्र प्रहरीको एपिएफसँग भिड्नेछ। पेनाल्टी सुटआउटमा चर्च ब्याइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले गोल गरे। चर्च ब्याइजका सर्ज डिकाको प्रहार विपक्षी गोलकिपर सुदिप लिम्बूले बचाए। झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष् चापागाईंले गोल गरे। प्रदीप बुढाथोकीको प्रहार क्रस वारमा लागेर फर्कियो। विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार चर्च ब्याइजका गोलकिपर दीप कार्कीले बचाए। खेल बराबरी भएपछि १४ मिनेटको अतिरिक्त समय थप गरिएको थियो। सो समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो। अतिरिक्त समयको दोस्रो हाफमा मार्क जुनियर ह्यारीसनले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्याइजको संकट टारेका थिए।यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। घरेलु समर्थन पाएको झापाको तुलनामा चर्च ब्याइज बलियो देखिएको थियो। उसले बल पकड राख्दै दबाब बनाए पनि फाइनल थर्डमा चुकेको हो। पहिलो हाफमा भने दुवै टोली फिक्का रहे। खासै गतिलो अवसर बनाउन सकेनन्। खेलको ५१औँ मिनेटमा चर्चका अबायोमी अलुवासेउन फकुन्लेले हानेको शक्तिशाली प्रहार गोलकिपर सुदिप लिम्बूले बचाए। ५३औँ मिनेटमा सुरज जिउ ठकुरीले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपर सुदिपले पन्च गरेर बाहिर फ्यालेको हुन्। ६३औँ मिनेटमा सुरजको पासमा विजय भुजेल बक्सभित्र बल पाए पनि सदुपयोग गर्न सकेनन्। एक मिनेट बाँकी रहँदा चर्च ब्वाइजका फाकुन्लेको प्रहार गोलकिपर सुदिपले उत्कृष्ट बचाउ गरे।  झापाले भने केही मात्र राम्रा अवसर बनाउन सक्यो। खेलको २६औँ मिनेटमा आशिष् चापागाईँले हानेको प्रहार गोलकिपर दीप कार्कीले बचाए। ६२औँ मिनेटमा कप्तान पेमा तामाङले बनाएको सुन्दर अवसरमा झापा गोल गर्न चुक्यो। आशिष् चापागाईंले मिलाएको सुन्दर पासमा विदेशी खेलाडी मार्क जुनियर ह्यारिसन गोल गर्न चुक्दा घरेलु समर्थक स्तब्ध बनेका थिए। सेमिफाइनल खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की घोषित भए।उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। फागुन १९ बाट सुरु भएको गोल्डकपको विजेताले नगद १३ लाख तथा उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनु भयो ।

देवान फुटबल क्लब र नामसालिङ फुटबल क्लब शिवरात्री गोल्डकपको फाईनलमा प्रवेश

माईजोगमाई गाउपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा संचालन भईरहेको शिवरात्री गोल्डकपको सेमिफाईनल खेल सम्पन्न भएको छ ।

आज भएको सेमिफाईनल खेल अन्तरगत जौवारी फुटबल क्लव र देवान फुटबल क्लव बिच भएको खेलमा खेल अवधिभरमा दुवै टिमबाट कुनै पनि गोल गर्न नसकी खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा ३ का बिरूद्द ५ गोल गर्दै देवान फुटबल फाईनलमा प्रवेश गरेको छ ।त्यसैगरी इडेन भ्यालि र नामसालिङ फुटबल क्लब बिच भएको खेलमा खेल अवधिभरमा दुवै टिमबाट १-१ गोल भई खेल ट्राईब्रेकरमा पुगेको हो । ट्राईब्रेकरमा ३ का बिरूद्द ४ गोल गर्दै नामसालिङ फुटबल क्लब फाईनलमा पुगेको छ ।

खेलको फाईनल खेल फागुन २७ गते आईतबार प्याङ माबिको खेलमैदानमा हुने छ । खेलको बिजेता टिमले नगद रू ५०००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ भने उपबिजेता टिमले नगद ३०००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ ।

फाईनल खेलको दिन माईजोगमाई गाउपालिका र संदकपुर गाउपालिका बिच मैत्रीपूर्ण महिला फुटबल खेल साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत  रहने आयोजकले जनाएको छ ।
फाईनल खेलको प्रत्यक्ष प्रसारण माईजोगमाई खवरको फेसबुक पेजमा हेर्न सकिने छ ।

चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध २-१ को जित निकाल्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागि खेेेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गरे ।

दुईपटकको ए डिभिजन लिग बिजेता मच्छिन्द्रले खेलमा सुरुवाती अग्रता लिएकाे  थियो । मच्छिन्द्रका लागि खेलको ११ औँ मिनेटमाा हिसुब थपलियाको उत्कृष्ट पासमा विदेशी खेलाडी स्टेफन्स विनोङ्सले गोल गरे ।

तर, अग्रतालाई जोगाउन नसक्दा मच्छिन्द्रले पराजय भोग्न पर्यो । पहिलो आफमा केही कमजोर देखिएको आर्मीले दोस्रो हाफमा मच्छिन्द्रलाई दबाबमा राख्न सक्यो । दोस्रो हाफमा मच्छिन्द्रले राम्रो फिनिसङ गर्न सकेन ।

आर्मी झापा गोल्डकपको उपाधि दाबेदार मानिन्छ । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग शुक्रबार खेल्नेछ । खेलअफ द म्याच आर्मीका बसन्त जिम्बा भए । उनले नगद ११ हजार प्राप्त गरे ।i

भाेलि बिहीबार आयोजक झापा-११ र एन्फा मकवानपुरबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैटौं संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बिनाेद बस्नेतले जानकारी दिनु भयाे। प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ ।

एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।

एपिएफ ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपिएफले अर्को क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन । एपिएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।
सि डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।

खेलको १० औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६ औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।

पहिलो हाफको इन्ज्युरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो । खेलको ५४ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपिएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिँदै विजेता टिम प्रशिक्षक सुनिल श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताए l

उनले झापा जस्तो प्रतिष्ठित गोल्ड कपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे । टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको बताए ।

जर्सी अभावका कारण एपिएफले टेप टाँसेर खेल खेलाएको थियो । बागमती युथ क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । अवसर सदुपयोग गर्न सकेको भए निर्धारित समयमा नै स्कोर हुन सक्ने अवस्था रहेको उनले बताए । खेल अवधिभर एपिएफलाई बागमतीले दबाबमा राखेको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।

मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।

झापाको बुद्धशान्ति –४ स्थित  गणेश माविको खेल मैदानमा भएको प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको उपाधि बुट्टाबारी उचालेको छ ।शनिवार भएको फाइनल खेलमा  पहरीगाउँलाई  ०/१ गोल अन्तरले हराउँदै बुट्टटबारीले उपाधि रक्षा गरेको हो ।उपाधि सँगै बुट्टाबारीले नगद ५० हजार , ट्रफी र मेडल पाएको छ  भने उपविजेता पहरीगाउँ इलामले नगद ३० हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।खेलको म्यान अफ दि म्याच बुट्टाबारीका पुजन थापा भए।
त्यस्तै, उत्कृष्ट गोल किप्पर बुट्टाबारीका  अभिषेक चौधरी भए भने उच्च गोलकर्ता पहरीगाउँका रमेश क्षेत्री भएका थिए त्यस्तै उत्कृष्ट डिफेन्डर  बुट्टाबारीका सनम राई भएका थिए ।विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय  प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको संयोजक तथा कार्यक्रमका अध्यक्ष रोशन कटुवाल  लगायत अन्य अतिथि लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

खेललाई थप रोचक बनाउन  अमर नकआउट महिला फुटबल टिम र  आईतबारे फुटबल क्लब महिला फुटबल क्लब विच सो म्याच खेल समेत भएको थियो । सो खेलमा निर्धारित समयमा खेल बराबरी भएकाले ट्राइबेकरको आधारमा ३/४ गोल अन्तरले आइतबारे महिला टिम विजयी भएको थियो ।
शनिवार भएको फाइनल खेलमा माओबादी केन्द्र  बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ न्युएभर विद्यालयका सन्चालक तिलक पाख्रिङ माओबादी केन्द्र बुद्धशान्तिका सचिव रूद्र भन्डारी वोडलिङ इन्टरनेटका सन्चालक सुनिल भट्टराई,सशस्त्र टिमाई वेश क्यामका प्रमुख चन्द्र भुजेल लगायतको उपस्थिति रहेको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्दै संस्थाका उपाध्यक्ष गणेश वहादुर डागीले औचित्यमाथि प्रकास पार्नु भएको थियो भने कार्यक्रमको सन्चालन सृजनशिल युवा समाजका सचिव साजन तामाङले गर्नु भएको थियो

 

बुद्धशान्ति । बुट्टाबारीे युनाइटेड र पहरीगाउ एफसी यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताकोउपाधीबा लागी आज भिड्दै छन् ।

बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज हुने फाइनल खेलमा दुवै टिम पहिलो अमर नकआउट फुटबल प्रतियोगिताका् ट्रफी उचाल्ने दाउमा छन ।

अमर युवा क्लबको आयोजनामा फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाएका प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ ।

त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने उपाध्यक्ष गणेश बहादुर डाँगीले बताएका छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।

झापाको बुद्धशान्तिमा मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, जेसीज आस्थाको यो एक अंशलाई आत्मसाथ गर्दै बुधबारे जेसीज तथा जेसीज सदस्यहरुले समाजमा विभिन्न सेवामूलक कार्य गर्दै उदाहरण बन्दै आएका छन् ।यसै सन्दर्भमा आज एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति १ दामा अधेरीका अतिविपन्न दिल बहादुर साम्पाङ राइको परिवारलाई बुधबारे जेसीजले खाद्यान्य तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ ।बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्योधन सिंह राजपुत (देव) को अध्यक्षता, तार्केश्वर गुप्ताको संयोजक्त्व तथा बुद्धशान्ति वडा नं. १ का वडाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा साम्पाङकै घरमा आयोजित कार्यक्रममा सो सामाग्री हस्तान्तरण गरिएको हो ।चुहिने टिनले छाएको घरमा आफ्नी बिरामी श्रीमतीलाई एक्लै स्यहार गर्दै बसेको ७० वर्षिय साम्पाङको आर्थिक अवस्था कम्जोर रहेको, खानलाउन समेत समस्या रहेकोले थोरै भएपनि सहजहोस् भन्ने उद्धेश्यले सहयोग गरेको बुधबारे जेसीज अध्यक्ष सिंहले बताउनु भयो ।साम्पाङलाई लत्ताकपडा र खाद्यान्न गरी चौध हजार ३४० बराबरको सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तार्केश्वर गुप्ताले जानकारी दिए । सो सामाग्रीहरु जेसीज सदस्यहरु द्वारा आर्थिक तथा जिन्सी संकलन गरि हस्तान्तरण गरिएको थियो ।सहयोग हस्तान्तरणका क्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले वडा नं. १ को कार्यालयले साम्पाङकी बिरामी श्रीमतीको उपचारका लागि आवश्यक सहजीकरण र स्थानीय युवा तथा संघसंस्थासँगको सहकार्यमा आवश्यक सहयोग गर्ने कुरामा सकारात्मक भुमिका निर्वाह गर्ने प्रतवद्धता साथै आज गरिएको सहयोग प्रति बुधबारे जेसीजलाई सम्पूर्ण वडा कार्यालयको तर्फबाट आभार व्यक्त गर्नु भयो ।

बुधबारे जेसीज वर्ष २०२४ महासचिव गजुहाङ योङुहाङले संचालन गरेको कार्यक्रममा बुद्धशान्ति गाउपालिका वडा न.१ का वडा सदस्य मोहन कुमार राई, बुधबारे जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रकाश भण्डारीको विषेश आतिथ्यता तथा न्यु स्टार युथ क्लबका अध्यक्ष एकराज भुजेल, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन ढकाल लगायत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो ।कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष सिंहले सहयोग प्रदान गर्ने अवसर प्रदान गर्नका लागि बुधबारे जेसीजलाई सम्झनु भएकोमा स्थानीय युवा तारा याफु राई, सहयोगी दाता, वडा कार्यालय तथा वडाध्यक्षलाई धन्यबाद दिदै आगामी दिनमा बुधबारे जेसीजले यस्ता सकारात्मक र रचनात्मक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज ९बुधबार० सार्वजनिक गरिएको छ ।

यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ ।

त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम ९एनआरटी० सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।

तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुईपटक ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम क्वार्टर फाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २९ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ ।

झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

बुद्धशान्ति । बुट्टाबारीे युनाइटेड यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज (मंगलबार) भएको अन्तिम क्वाटरफाइनल खेलमा अर्जुनधाराको शनिश्चरे एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै बुट्टाबारीेले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

यो संगै आज बाट क्वाटरफाइनल समिकरण पुरा भएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको १५ मिनेटमा बुट्टाबारीे युनाइटेडका सोना लिम्बुले गरेको पहिलो गोलनै खेलको निर्णायक गोल बन्यो । खेलको ५१ औँ मिनेटमा शनिश्चरे एफसीका अनिस राइले रातो कार्ड पाए पछी शनिश्चरे ८ खेलाडीमा सिमीत भएको थियो ।

खेल अवधी भर कुनै पनि गोल गर्न नसक्दा शनिश्चरे एफ सी प्रतियोगीताबाट बाहिरीएको छ । खेलमा निर्णायक गोल गरेका गरेका बुट्टाबारीेका सोना लिम्बु म्यान अफ दि म्याच भएका थिए

उनलाई १ हजार नगद पुरस्कार वितरण गर्नु भएको थियो ।
साथै खेल अवधिभर खेलाडीहरू लाई  बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रत्येक  खेलमा १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिदै आएको छ ।

अमर युवा क्लबको आयोजनामा फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने अध्यक्ष रोशन कटुवालले बताउनु भयो । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।