
झापा । किरात याक्थुङ (लिम्बू) समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु) को १२औं राष्ट्रिय महाधिवेशन झापाको भद्रपुर–चन्द्रगढीमा हुने भएको छ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी र कार्यक्रमबारे जानकारी दिइएको हो। वि.सं. २०४६ सालदेखि लिम्बू समुदायको सांस्कृतिक, भाषिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय कियाचुले चैत १२, १३ र १४ गते महाधिवेशन आयोजना गर्ने जनाएको छ।
उद्घाटन कार्यक्रम चैत १२ गते चन्द्रगढीस्थित मेची रंगशालाअगाडि खुला मैदानमा हुनेछ। कार्यक्रममा संस्थाका संस्थापक उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङ प्रमुख आतिथ्य रहने बताइएको छ।
महाधिवेशनमा लिम्बुवानका ९ जिल्ला, उपत्यकाका ३ जिल्ला, साथै चितवन, ओखलढुंगा र कास्कीसहित विभिन्न जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्।
त्यस्तै प्रदेश १ को लिम्बुवान प्रदेश कार्यसमिति, बागमती प्रदेश, विभिन्न विषयगत संगठन तथा विदेशस्थित चुम्लुङका प्रतिनिधिसहित करिब ५०० जनाको सहभागिता रहने संघीय कार्यसमितिका महासचिव निरन्ती तुम्वापोले जानकारी दिए।
चैत १३ र १४ गते बन्दसत्र सञ्चालन हुने छ, जसमा संस्थाको सांगठानिक, प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै मुकुम्लुङ संरक्षण, लिम्बुवान नामाङ्कन, कोशी प्रदेशको नामकरण, लिम्बू भाषाको अवस्था, संस्कार–परम्परा तथा आदिवासी अधिकारसम्बन्धी विषयमा समेत गहन छलफल हुने जनाइएको छ।
महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ। आयोजकले कार्यक्रम सफल बनाउन सबै पक्षको सहयोग अपेक्षा गरेको छ। पत्रकार सम्मेलनमा संघीय सदस्य चन्द्रकला पालुङवा, अमृता योङहाङ, झापा जिल्ला अध्यक्ष सेसेहाङ फ्याकलगायतको उपस्थिति रहेको थियो।






