झापाको बिर्तामोड उद्योग बाणिज्य संघ महिला उद्यमी समुहको आयोजनामा सोमबार तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
सभ्य समाजको पहिचान महिला हिंसा विरूद्धको अभियान भन्ने नाराका साथ बिर्तामोड उद्योग वाणिज्य संघ (महिला उद्यमी समूह)ले तीज मिलन समारोकाबीच समाजसेवी विवेकेशरी प्रसाई – संगीता प्रसाई र झापाको पहिलो महिला चार्टर एकाउण्टेन एन्जिला मैनालीलाई सम्मान गरेको छ ।
त्यस्तै उत्कृष्ठ व्यवसायी प्रकाश गोतामे, रमेश शर्मालाई प्रोत्सान स्वरुप सम्मान गरिएको थियो । सम्मानित हुने मध्ये गोतामे द किङ्सवेरी होटलका सञ्चालक हुन् भने शर्मा जिरु कम्पनीका सञ्चालक हुन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मान पत्र तथा प्रशंसा पत्र प्रदान गरेकी थिइन् ।
महिला उद्यमी समूह बिर्तामोडकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महिला उद्यमी समूह बिर्तामोडकी वरिष्ठ उपाध्यक्ष यशोदा उप्रेतीले गरेकी थिइन् ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल महिला संघकी केन्द्रीय सदस्य उमा शिवाकोटी,वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघकी सह कोषाध्यक्ष राधिका चुडाल हुँमागाईले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा तीजलाई भड्किलो नबनाउन सचेतना जगाउँदै पानसमा दीप प्रज्वलन तथा केक काटेर कार्यक्रम उद्घाटन गरिएको थियो । सो अवसरमा समाजका अति विपन्न महिलाको पहिचान गर्दै उनीहरुलाई नयाँ लुगा वितरण गरिएको थियो । विपन्न १५ जना महिलालाई साडी लगायतका समग्री प्रदान गरिएको हो ।
सोही कार्यक्रमका बीच माता पाथीभरा नौमति वाजा समूह बिर्तामोड ५ को वाजाको उद्घाटन गरिएको थियो । नेपाल बहुजाति बहुभाषी र बहु सास्कृतिक पहिचान भएको देश हो । सास्कृतिक पहिचान अन्तर्गत नेपालको मौलिक लोकबाजा अन्तर्गत नौमती पन्चेबाजा पनि विशेष पर्दछ । शुभकार्य शुभ साइतमा बजाइने नौमती पन्चेबाजा पछिल्लो समयमा लोप हुदै गइरहेको अबस्था छ ।
यहि परिफेरीलाइ मध्यनजर गर्दै विर्तामोड वडा नं स्थित माता पथिभरा महिला नौमति वाजा संस्थाले १ बर्षदेखी पन्चेबाजा अभ्यास तथा प्रदशन गर्दै आइरहेको छ । निरन्तर प्रयासरत यस माता पाथिभरा नौमति संस्थाले पछिल्लो समयमा पन्चेबाजा बजाउदै संगसंगै नाच्ने अभ्यास पनि गरिरहेको छ ।
कार्यक्रममा वीरता लेडी जेसीज, छठ महिला मञ्च लगायत विभिन्न महिला समूहले नृत्य तथा गायन प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोकच बनाइएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीलाई सामुहिक रुपमा दर खुवाइएको थियो ।
कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष नौनकला दाहाल भट्टराईले सञ्चालन गरेकी थिइन् ।